images

मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चार जनाको लेक लागेर मृत्यु

काठमाडौं–मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चार जनाको लेक लागेर मृत्यु भएको छ । दुई दिनको अवधिमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चार जनाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । ।

लेक लागेर सिकिस्त भएका एक जनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिवार मृत्यु भएको र अन्य एक जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिवार मुगु स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला सदरमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका९ १० तल्लेख गाउँका दुई जना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।

शनिवार पाटन ठुलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावदको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।