images

टी–२० विश्वकपमा अमेरिकाको विजयी सुरुवात

काठमाडौं– टी–२० विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ ।

डेब्यू विश्वकप खेलमा आरोन जोन्सको विस्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको हो । १९५ रनको बलियो लक्ष्य अमेरिकाले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६ ओभर ३ बलमा ४२–२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

अमेरिकाको सुरुआत भने त्यति राम्रो हुन सकेको थिएन । कलिम सानाको दोस्रो बलमै स्टिभ टेलर शून्यमा एलबी डब्लू आउट भएका थिए । त्यसपछि कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा क्याच आउट भएका थिए । त्यसपछि जोन्स र गौसले पूरै खेलको माहोल नै परिवर्तन गरेका थिए ।

क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक÷एक विकेट लिए । त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । क्यानडाका ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए । निकोलस किर्टोनले ५१ तथा श्रेयस मोभ्भा ३२ रनमा आउट भए । क्यानडालाई ओपनर आरोन जोनसन र नवनित धालिवालले ५ ओभर २ बलमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । जोनसन १५ बलमा ५ चौकासहित २३ रनमा नितेश कुमारबाट लङअफमा क्याच आउट भए । परगत सिंह ५ रनमा रन आउट भएका थिए । त्यो समय क्यानडा ८ ओभरमा ६६–२ को अवस्थामा थियो । त्यसपछि तेस्रो विकेटका लागि निकोलस किर्टोन र धालिवालले ३७ बलमा ६२ रनको साझेदारी गरेका थिए । अमेरिकाका कोरी एण्डरसन, अलि खान र हरम्रीत सिंहले एक÷एक विकेट लिए ।

समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ ।
समूह डी मा रहेको नेपालले मङ्गलवार नेदरल्यान्ड्ससँग ग्राण्ड प्रेरीमा खेल्दै सुरुआत गर्नेछ ।