images

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

एजेन्सी– जापानको इशिकावा प्रान्तमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ ।

सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो । पहिलो धक्का ५ दशमलव ९ म्याग्निच्युडको र दोस्रो धक्का ४ दशमलव ८ म्याग्निच्युडको मापन भएको थियो । तथापि समाचार एजेन्सी एनएचकेका अनुसार भूकम्पबाट कुनै क्षति भएको छैन ।

सुनामीको चेतावनी पनि जारी भएको छैन । बिबिसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ । गत जनवरीमा इशिकावामा भूकम्प जाँदा जमिन अधिकतम सात अङ्कको मानसम्म पुग्ने गरी हल्लिएको थियो । सो भूकम्पमा परी ४८ जनाको मृत्यु भएको थियो । सोमबार बिहानको भूकम्पको धक्कालाई ५ दशमलव ९ मान दिइएको छ ।

यो धक्काले इशिकावा प्रान्तको बाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत सहरहरूमा महसुस भएको थियो । भूकम्प लगत्तै विद्युत् आपूर्ति बन्द हुँदा पूर्वी जापानको बुलेट ट्रेनको सेवासमेत केही बेर प्रभावित भएको थियो । होकुरिकु–शिंकान्सेन र जोयत्सु–शिंकान्सेन बुलेट ट्रेन सेवा केही बेर रोकिएर करिब ७ बजेतिर पुनः सुरु भएको जापानका सञ्चार माध्यमहरूले जनाएका छन् ।