images

जलवायु परिवर्तनले गर्भवती महिला र बालबालिकाहरूमा बढी असर परेको छः उपसभामुख राना

काठमाडौं–उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनले सबैभन्दा बढी गर्भवती महिला र बालबालिकाहरूमा असर परेको बताएकी छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर गर्भवती महिला, बालबालिका र वृद्ध वृद्धमा पर्ने गरेको भन्दै सरकारले आवश्यक चासो र असर न्यूनीकरणका लागि पहल गर्नु पर्नेमा जोड दिएकी हुन् । उनले जलवायु परिवर्तनको असर सहरमा बस्नेहरूलाई खासै जानकारी नभए पनि हिमाल र पहाडी इलाकामा बस्ने मानिसहरूलाई दिन प्रतिदिन समस्या बढ्दै गइरहेको उल्लेख गरिन् । उनले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लँदै गएको, हिउँ नपर्ने समस्या बढेको र बालीहरू उत्पादनमा ह्रास आइरहेको जस्ता समस्या बढेको बताइन् । उनले तराईमा पनि विभिन्न रोगहरू भित्रिने, बाढी आउने र बाढीबाट हुने समस्याहरू विकराल बन्दै गएको भन्दै सरकारले समयमा नै विशेष ध्यान दिन जरुरी रहेको बताइन् । उनले जलवायु परिवर्तनबाट परेका असरको न्यूनीकरणमा सबै एक भएर लाग्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘सहरमा बस्ने मानिसलाई त्यत्ति थाहा हुँदैन । यो जलवायु परिवर्तनका कारण के भइरहेको छ, कस्तो असर भइरहेको छ भन्ने । किनभने अस्पतालहरू सबै यहीँ छ । जो हिमाल र पहाडको विकट ठाउँमा बस्नेहरूलाई यसले ठुलो असर पारेको छ । बालीहरू पहिलाको जस्तो फलाउन नसक्ने समस्याहरू उहाँहरूले राख्नुभएको थियो । जलवायु परिवर्तनले गर्दा अहिले त्यहाँ उत्पादन हुन सक्दैन । जलवायु परिवर्तनले गर्दा विशेष गरी गर्भवती महिलाहरू, वृद्ध वृद्धा र बालबालिकाहरूमा बढी असर परेको हुन्छ । बाढी तराईमा जाने कुरा बढी वर्षाका कारणले हुन्छ । त्यसको असर धेरै छ । सरकारले धेरै कुराहरूको व्यवस्थापन गर्नुपर्नेछ । जलवायु परिवर्तनका कुराहरू कसरी छिटो व्यवस्थापन गर्ने भन्ने कुरामा हामीले विशेष ध्यान दिनुपर्छ ।’

उपसभामुख रानाले नेपालले यस वर्ष धेरै ऋण लिएको उल्लेख गर्दै नेपालमै भएका साधन श्रोतहरूको पहिचान गरी व्यवस्थापन गर्न सके ऋण लिइरहनु पर्ने समस्या नहुने जिकिर गरिन् ।