images

बजेट प्रति सत्तारुढ दलकै सांसदको आपत्ति,आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न चेतावनी

काठमाडौं–नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरूलाई चेतावनी दिएका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले मन्त्रीहरूलाई आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न चेतावनी दिएका हुन् । उनले मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित नगर्न आग्रह गरे । उनले मानव सूचकाङ्कमा पछि परेका जिल्ला र पालिकाहरूलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताए । उनले मन्त्रालयस्तरिय बजेटको किताब आउँदा स्रोत र साधनको न्यायोचित वितरण भएको होस् भनि मन्त्रीहरूलाई ध्यानाकर्षण गराउनु भयो । उहाँले रणनीतिक सडकहरू र वैकल्पिक लोक मार्गहरूलाई पर्याप्त बजेट विनियोजन गर्न पनि माग गरे ।

उनले भने-‘धेरै वर्षदेखि निरन्तर निर्माणाधीन अवस्थामा रहेका रणनीतिक सडकहरू, निर्वाचन क्षेत्र स्तरीय रणनीतिक सडक, वैकल्पिक लोकमार्गहरु चालु आर्थिक वर्षमा बजेट अभावकै कारणले निर्माण कार्य ठप्प भएका छन् । यो आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेर निर्वाचन क्षेत्र स्तरीय रणनीतिक सडक र वैकल्पिक लोकमार्गहरुलाई स्टमेट अनुसारकै बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो पटकको बजेटमा मन्त्रीज्युहरुले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन गर्नुहुने छैन र रातो किताब ल्याउनुहुने छैन । सिङ्गो मानव सूचकाङ्ककै आधारमा पछि परेका जिल्ला र पालिकाहरूलाई केन्द्रमा राखेर साधन, स्रोतको न्यायोचित वितरण गरेर रातो किताब आउने छ । मन्त्रालयस्तरिय बजेटको किताब आउनेछ भन्ने अपेक्षा छ ।’

सांसद दाहालले संसद् अवरोधको शृङ्खलाको अन्त्य गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले सुशासनको क्षेत्रमा उल्लेख्य काम गरिरहेको पनि बताए ।