images

भारतको लोकसभा निर्वाचनकाे मतगणना जारी

एजेन्सी– भारतको लोकसभा निर्वाचनको मतगणना जारी छ । भारतमा सात चरणमा भएको लोकसभा निर्वाचनको आज मतगणना थालिएको हो । ५४३ सिटमध्ये अहिले ५४२ सिटमा मतगणना भइरहेको छ । सुरत लोकसभा सिटमा भने भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

सुरुवाती मत परिणाम हेर्दा भारतीय राष्ट्रिय कंग्रेसले पछिल्ला दुई चुनावमा ल्याएका सिटहरूको जोडफल भन्दा धेरै सिट ल्याउने देखिएको छ । एक सय अङ्क नजिक लिड गरिरहेको कंग्रेसले लिड गरेको यो सङ्ख्या पछिल्ला दुई चुनाव जोड्दा आउने भन्दा धेरै हो । सन २०१४ मा ४४ सिट र सन २०१९ मा ५२ सिट ल्याएको कंग्रेसले अहिले ९९ स्थानमा लिड गरेको भारतको एनडिटिभीले जनाएको छ । सन् २०१९ को चुनावमा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले लोकसभामा ३०३ सिट जितेको थियो ।

एनडीए गठबन्धनसँग ३५३ सिट थियो । मतगणना जारी रहँदा भाजपा एक्लैले बहुमत समेत कायम राख्न नसक्ने सङ्केत देखिएको छ । भाजपा २४० सिटमा अगाडि देखिन्छ । १ सिट भाजपाले पहिले नै जितिसकेको छ । जबकी सरकार बनाउनका लागि उसलाई २७२ सिट आवश्यक पर्छ । एनडीए हाल २९३ सिटमा अगाडि देखिएको छ । भने विपक्षी गठबन्धनले २३१ सिटमा लिड गरेका छन् ।