images

खेलकुद सङ्घहरूलाई मन्त्री श्रेष्ठको चेतावनीः तत्काल वार्षिक क्यालेन्डर नबनाए अप्रिय निर्णय लिनुपर्छ

काठमाडौं–युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद सङ्घहरूलाई तत्काल क्यालेन्डर बनाएर काम गर्न निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा विभिन्न खेलकुद सङ्घहरूको वार्षिक क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले वार्षिक क्यालेन्डर सार्वजनिक नगर्ने सङ्घहरूलाई तत्काल क्यालेन्डर बनाएर सार्वजनिक गर्न र क्यालेन्डर नबनाए अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी दिए । उनले खेलकुद सङ्घहरूले खेलहरू नै नगर्ने हो भने जनाइमा साँचो झुन्ड्याएझैँ झुन्डिरहन आवश्यक नरहेको पनि स्पष्ट पारे । उनले खेलकुदलाई कुनै सङ्घ बन्धक बनाएर राख्न नहुने बताए ।

उनले भने, ‘यो सङ्घहरूको पनि २७ हुँदै ४१ को सङ्ख्यामा आयो भन्ने छ । जुन सङ्घहरूले आफ्नो कार्यक्रम दिँदैन त्योप्रति हाम्रो गम्भीर ध्यानाकर्षण छ । त्यो सङ्घले कार्यक्रम नगर्ने हो भने म अहिले नै सतर्क गर्न चाहन्छु । अप्रिय निर्णय लिनुपर्ने हुन्छ । ऐनले भनेका कुरा र सङ्घ मात्र ओगटेर कार्यक्रम नै नगर्ने सङ्घ चाहिएन । भार किन बनेर बस्ने । जतिसक्दो छिटो खेलकुद परिषद्मा बाँकी सङ्घहरूले पनि केही प्राविधिक त्रुटि भएका छन् भने खेलकुद परिषद् सहजीकरण गर्न चाहन्छ । प्राविधिक समस्या पनि नभएको र जनाइको साँचो भिरेको जस्तो गरेर खेलकुदलाई कुनै सङ्घ कसैले पनि बन्धक बनाएर राख्न पाइँदैन । सङ्घहरूले क्यालेन्डर ननिकालेको भए यथाशीघ्र बनाउनुस् । सार्वजनिक स्थानमा खेल हेर्दा सबै साथीहरू जिम्मेवार भएर हेरिदिनुस् ।’

फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले टुँडिखेलमा आज नेपाल र नेदरल्याण्डबीचको आइसिसी टी २० विश्वकप खेल देखाइने भएकाले सबैले जिम्मेवार भएर खेल हेर्न आग्रह गरे।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाली खेलकुदलाई माथि लैजानका लागि घोषित कार्यक्रम पूरा गर्न साँच्चिकै चुनौती रहेको बताए । उनले सबै मिलेर मात्रै नेपाली खेल क्षेत्रलाई माथि लैजान सकिने बताए ।

उनले भने, ‘हामीले नेपाली खेलकुदलाई घोषित कार्यक्रम पूरा गर्न साँच्चिकै चुनौती छ । यो कसको दायित्व हो । यो मेरो मम भन्ने स्थिति आउनुपर्छ । राष्ट्रिय सङ्घहरूले मम भन्नुपर्छ । राष्ट्रिय खेलकुद परिषद्का विभिन्न शाखाहरूले मम भन्नुपर्छ । सबैले सामूहिक रूपले अपनत्व लिनुपर्ने स्थितिमा आइसकेका छौँ ।’

उनले खेलकुदलाई व्यवस्थित बनाएर लैजान सबै लाग्नुपर्ने बताए ।