images

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि एकत्रित भएर लाग्न राष्ट्रपतिको आह्वान

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि एकत्रित भएर लाग्न विश्व समुदायलाई आह्वान गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले सो आह्वान गरेका हुन् । उनले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङ्खलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो लगायतका प्रकोपहरू बढेको बताए । उनले विपद्का कारण तल्लो तटीय क्षेत्रका बासिन्दाका लागि आधारभूत जीवनयापनका चुनौतीहरू थपिएको बताए ।  उनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाल लगायत अन्य पर्वतीय मुलुकहरू एउटा विश्वव्यापी सङ्कटको भुमरीमा फसेको उल्लेख गरे । उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अब ढिला गर्ने समय नरहेको जिकिर गरे । उनले नेपालको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्दै अनुकूलन क्षमता वृद्धि गरी उत्थानशीलता हासिल गर्न सहयोग पुग्ने बताए । उनले उच्च शृङ्खला नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड, तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित किसिमको सम्बोधन हुनुपर्ने बताए।

उनले भने ‘विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हाम्रा हिमशृङ्खलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो लगायतका प्रकोपहरूले त्यस क्षेत्रका बासिन्दाका लागि आधारभूत जीवनयापनका चुनौतीहरू थपिने गरेका छन् । गत वर्षको अक्टोबर महिनामा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको भ्रमण गर्नुभएको विषयमा यहाँहरू विदितै हुनुहुन्छ । भ्रमणका दौरान उहाँले नेपालका हिमालले भोग्नुपरेको सङ्कटका लागि विश्वसामु अझै जोडदार ढङ्गले प्रस्तुत गर्नुभएको थियो । उहाँकै शब्दमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाल लगायत अन्य पर्वतीय मुलुकहरू एउटा विश्वव्यापी सङ्कटको भुमरीमा फसेका छौँ । म आह्वान गर्न चाहन्छु, यस गम्भीर मुद्दालाई सम्बोधन गर्न विश्व समुदाय एकत्रित भएर लागौँ । हामीलाई अझै ढिला गर्ने सुविधा छैन । जलवायु परिवर्तनको विश्वव्यापी मुद्दाहरूको सम्बोधनमा नेपालले राष्ट्रिय स्तरमा विभिन्न कार्यहरू गर्दै आएको छ । ती मध्ये हालै जारी नेपालको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्दै अनुकूलन क्षमता वृद्धि गरी उत्थानशीलता हासिल गर्न सहयोग गर्नेछ । साथै उच्च शृङ्खला नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड, तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित किसिमको सम्बोधन हुनेछ ।’

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको अवसरलाई जीवन समृद्धि, आशाको शक्तिशाली प्रतीकको रूपमा बिरुवा रोपेर मनाउन आग्रह गरे ।