images

कोशी प्रदेशको विवाद न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा

काठमाडौं– कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । कोशी प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्री हिक्मत कार्कीलाई विपक्षी बनाउँदै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेका थिए ।

उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको छ । सो मुद्दाको सुनुवाइ तेस्रो नम्बरमा छ ।

अघिल्लो बुधवार पनि कार्कीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो । सो इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।

वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेपछि उनी सर्वोच्च अदालत गएका थिए । उनको मुद्दामा जेठ ९ गते मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो ।