काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरूको अपमान गरेको टिप्पणी गरेका छन् ।
सरकारले सो कार्यक्रममा लागि १० करोड बजेट विनियोजन गरेको छ । सांसद बलायरले विनियोजित सो बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै छोरीहरूको अपमान गरेको बताएका हुन् । बुधवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो अपमान हुने खालको बजेट विनियोजन गर्नुभन्दा त्यसलाई हटाउन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिए । सांसद बलायरले द्वारिकादेवी ठकुरानी स्मृति भवनका लागि तत्काल बजेटको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । उनले भूकम्पले थला परेका कतिपय नागरिकका लागि अझै पनि बजेटको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरे ।
उनले भने, ‘महिला राजनीतिमा नेपालमा मात्रै नभएर एसियामा नै चर्चित नाम हो– एसियामा नै द्वारिकादेवी ठकुरानी । उहाँको स्मृतिमा गत वर्ष सरकारले केही बजेट विनियोजन गरेर उहाँको स्मृति भवन बनाउने तय गरेको थियो डोटीमा । तर अहिलेको सरकारले त्यसलाई अधुरैमा राख्यो । त्यसैले यथाशीघ्र त्यसको बजेटको व्यवस्थाका लागि म सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु । यस्तै गरेर प्रधानमन्त्री छोरी कार्यक्रम आयो । प्रधानमन्त्रीको छोरी, अर्थमन्त्रीको छोरी अथवा मेरै छोरी अथवा सांसदहरूका छोरीहरू हुन् भने त मलाई केही भन्नु छैन । तर जनताको छोरीका लागि हो भने यो विनियोजित बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा छोरीहरूको अपमान भएको छ । बरु त्यति नै रकम विनियोजन गर्ने हो भने त्यसलाई हटाई दिँदा जाति हुन्छ जस्तो मलाई लाग्दछ ।’
सांसद बलायरले सरकारले भूकम्प पीडितहरूको राहतमा एकरूपता ल्याउन नसकेको आरोप पनि लगाए ।