images

गृहमन्त्री लामिछाने गरे विपद् न्यूनीकरणको पूर्व तयारीबारे सदनलाई जानकारी

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद् न्यूनीकरणका लागि गरिएको पूर्वतयारीबारे सदनलाई जानकारी गराएका छन् ।

बुधवारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गरिएको जानकारी गराए । पोष्टले विपद् अघिको पूर्व तयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरू गर्ने उनको भनाइ छ । उनले बुधवारदेखि नै सुरु हुने गरी ११४९ नम्बरको टोल फ्री नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि जनाकारी दिए ।

गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दैविक सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरूबाट गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ मौज्दात रहेको पनि जानकारी दिए । सो रकमको सही परिचालन गर्न सकेमा राहत, उद्धारको काम नागरिकलाई महसुस हुने गरी गर्न सकिने उनको भनाइ छ । त्यस्तै, ७३ हजार ६७० क्विन्टल चामल, ४६ हजार ७४० त्रिपाल, ८ हजार ३५१ टेन्ट, १७ हजार ३५५ ब्ल्याकेट, ६ हजार १६० स्लिपिङ म्याट, ५ हजार ५२३ सेल्टर किट, २ हजार १०२ सेल्टर उपकरण, ८ हजार ६०३ भान्सा सम्बन्धी सरसामानको सिट, ३३ हजार ९३१ हाइजिन सेट मौज्दात रहेको उनको भनाइ छ ।

उनले नेपाली सेनाका १० हजार ८४७, नेपाल प्रहरीका १० हजार ५८५, सशस्त्र प्रहरी बल नेपालका १ हजार ९२४ तालिमप्राप्त जनशक्ति पनि विपद्का लागि तयारी अवस्थामा राखिएको बताए । गृहमन्त्री लामिछानेले राहत सामग्रीको वितरण एकद्वार प्रणालीबाट गरिने स्पष्ट पारे ।