images

शान्ति प्रक्रियाको बाँकी काम यथाशीघ्र टुङ्ग्याउनुपर्छः सचेतक चौधरी

काठमाडौं– नेकपा(माओवादी केन्द्र) की सचेतक रुपा सोशी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतिबाट यथाशीघ्र टुङ्ग्याउनुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सचेतक सोशीले शान्ति प्रक्रियाको बाँकी काम यथाशीघ्र टुङ्ग्याउनुपर्ने बताएकी हुन् । उनले संविधान बनेको लामो समय बितिसक्दा पनि यो काम टुङ्गिन नसकेको भन्दै पटक–पटक सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक रोकिएको बताइन् । उनले सहमतिबाट छिटो टुङ्ग्याउनको लागि सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्– ‘शान्ति प्रक्रियासँग सम्बन्धित टिआरसीको विषयलाई म एकचोटी पुनः यो संसदमा बोल्न चाहन्छु । शान्ति प्रक्रिया अब टुङ्गिन्छ कि भन्ने हुँदाहुँदै पनि फेरि पनि रोकिने क्रम जारी रहेको छ । सरकारलाई आग्रह गर्न चाहन्छु, अब यसलाई विलम्ब नगरी सहमतीय प्रणालीबाट यथाशीघ्र टुङ्ग्याउने प्रक्रियातिर ध्यान जाओस् ।’

सचेतक चौधरीले विपद् पूर्व तयारी व्यवस्थापनका लागि पनि सरकारको ध्यानाकर्षण गराइन् ।