images

दिगो विकासका लक्ष्यलाई कार्यान्वयन गर्न स्वैच्छिक राष्ट्रिय समीक्षा

काठमाडौं–यूथ एड्भोकेसी नेपालले विभिन्न सङ्घ संस्थाको सहकार्यमा सङ्घीय राजधानी काठमाडौंमा ‘ सङ्घीय तह बहुपक्षीय संवाद’ कार्यक्रम आयोजना सम्पन्न भएको छ । दिगो विकास कार्यान्वयनको अवस्था मूल्याङ्कनको लागि ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ गरिएको हाे ।

दिगो विकास कार्यान्वयनको अवस्था, यसका चुनौतीहरू, सिकाइहरू, असल अभ्यासहरू तथा आगामी दिनमा गर्नु पर्ने कार्यको लेखाजोखा गर्ने उद्देश्यका साथ ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ मार्फत गरिएको हो । नेपालले यसअघि सन् २०१७ र २०२० मा ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ गरिसकेको छ ।

विगतका अभ्यासलाई निरन्तरता दिँदै नेपालले सन २०२४ मा तेस्रो पटक प्रतिवेदन तयार गर्न लागेको हो । प्रतिवेदनलाई प्रत्येक वर्ष संयुक्त राष्ट्र सङ्घले आयोजना गर्ने उच्च स्तरीय राजनीति मञ्चमा प्रस्तुत गर्ने गरिन्छ ।

यूथ एड्भोकेसी नेपालले युवाहरूको दृष्टिकोणबाट ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ का लागि धुलाबारी, वीरगन्ज, हेटौडा, नेपालगन्ज, सुर्खेत तथा बाजुरामा प्रदेश स्तरीय कार्यक्रम आयोजना गरिसकिएको आयोजक संस्थाका अध्यक्ष गणेश धामीले जानकारी दिए । यसका लागि अनलाइन माध्यम तथा फोकस ग्रुपका माध्यमबाट पनि सरोकारवाला निकायसँग सूचना सङ्कलन गरिएको धामीको भनाई रहेको छ ।

सांसदहरूको ऐक्यबद्धता
काठमाडौंमा आयोजित बहुपक्षीय संवादमा सांसदहरूले दिगो विकास कार्यान्वयन र यसका चुनौतीलाई समाधान गर्नका लागि आफ्नो तर्फबाट ऐक्यबद्धता गर्ने विश्वास दिलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले दिगो विकास कार्यान्वयनमा सरकारले पर्याप्त बजेटको प्रबन्ध गर्नुपर्नेमा जोड दिइन् । उनले अगाडी भनिन ‘ दिगो विकास कार्यान्वयन कुनै एक देशको प्रयासले मात्र सफल हुँदैन । सबै देशको सहयोग आवश्यक पर्दछ ।’

त्यस्तै सत्तारुढ दल नेकपा एमालेकी सांसद दीपा शर्माले दिगो विकास कार्यान्वयनको लागि युवाहरूमा लगानी गरी परिचालन गर्नु पर्नेमा जोड दिइन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपसचिव अनिता पौडेल, अधिकारकर्मी सुवास नेपाली, दीपक सोनी, हंसराज जोशी, नानीमाया थापा, सविन लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वैच्छिक राष्ट्रिय समीक्षाको अवधारणा, यसको प्रक्रिया तथा यसको महत्त्व विषयमा यूथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडाले प्रकाश पारेका थिए ।

उद्घाटन सत्रपछि सहभागीहरूलाई आठ वटा समूहमा विभाजन गरी सामाजिक सुरक्षा, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, प्राविधिक तथा व्यावसायिक शिक्षा, महिला हिंसा र विभेद, युवा रोजगारी, जलवायु न्याय, युवा सहभागिता तथा स्वयंसेवा विषयमा सूचना सङ्कलन गरिएको थियो । बहुपक्षीय संवाद कार्यक्रमको सञ्चालन मयुरी भट्ट तथा स्वागत तथा उद्देश्यमाथि प्रकाश जिया राज भण्डारीले गरेका थिए ।