images

सुरक्षण मुद्रण सम्बन्धी विधेयक सङ्घीय संसदबाट पारित

काठमाडौं– सुरक्षण मुद्रण सम्बन्धी विधेयक सङ्घीय संसदबाट पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको यो विधेयक बिहीबार प्रतिनिधि सभाबाट समेत बहुमतका आधारमा पारित भएको हो । विधेयकमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, बैङ्क नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रलाई नेपाल सरकारले नै मुद्रण गर्ने प्रावधान राखिएको छ ।

जग्गाधनी दर्ता प्रमाण पुर्जा वा डिजिटल नक्सा समेत सुरक्षण मुद्रण सामग्रीको परिभाषामा समेटिएको छ । कानुनी रूपमा आधार तयार भएसँगै सरकारले यी सामग्रीको उत्पादन नेपालमै गर्ने योजना अगाडि बढाउने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

सरकारले चाहेमा सरकारको अधिकांश शेयर वा स्वामित्व भएको निकाय वा संस्थामार्फत मुद्रण गर्न सकिने प्रावधान पनि विधेयकमा छ । यसैबीच सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि जेठ २७ गतेबाट मन्त्रालयगत छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानाले मन्त्रालयगत छलफल हुने समय जानकारी गराएकी हुन् । विभिन्न मन्त्रालय तथा सचिवालय अन्तर्गतका विभिन्न विषयमा छलफल गर्न र सम्बन्धित मन्त्रीले जवाफ दिनको लागि जेठ २७ देखि असार ४ गतेसम्म समय निर्धारण गरिएको छ । बिहीबारको बैठकले विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।