images

केन्द्रको हस्तक्षेपले प्रदेशको राजनीतिमा हलचल !

काठमाडौं– करिव सात वर्षपछि मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार ढलेको छ । बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि जसापा नेपाल नेतृत्वको सरकार ढलेको हो । योसँगै मधेसमा उपेन्द्र यादवसँग टक्कर गरिरहेको जनमत पार्टीले भने आफूले जितेको महसुस गरेको छ । मधेसमा जनमतकै नेतृत्वमा नयाँ सरकार बन्ने छ । अर्थत मधेसको राजनीतिमा यादवलाई बिस्थापित गर्न सिके राउत सफल भएका छन् ।

संघीयताको जति रटान लगाए पनि मुलुक पूर्णरुपमा यसमा अझैं अभ्यस्त भइसकेको छैन । संघीयताका नाममा राजनीतिक नेतृत्वले मुलुकको ढुकुटी सिध्याउने बाहेक अर्को काम गरेको देखिदैन । मुलुक संघीयतामा गइसकेपछि तीन तहको सरकारको संरचना पनि बन्यो । त्यो अनुसार नेतृत्व चयन पनि भयो । तर, अहिले सबैभन्दो बढी अस्थिर र खर्चिलो बीचको प्रदेश तह बनेको छ । मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउन प्रदेश तहको निकै भूमिका रहेको छ । कार्यकर्ता व्यवस्थापनको थलोका रुपमा दलहरुले यसलाई परिभाषित गर्न थालेपछि केन्द्रको प्रत्यक्ष प्रभाव प्रदेशमा पर्नु कुनै नौलो विषय भएन । केन्द्रमा नयाँ समिकरण बन्नेबित्तिकै प्रदेशको राजनीति उथलपुथल हुने स्थिति छ । पछिल्लो दृश्य हेर्ने हो भने प्रदेशको नेतृत्व सरकार निर्माणमा मात्र अभ्यस्त भएको देखिन्छ । त्यो छनक कोशी प्रदेशदेखि हाल मधेश प्रदेशसम्म आइपुगेको छ । प्रादेशिक संरचना बनेयता मधेश प्रदेशमा यस खालको राजनीतिक अस्थिरता आएको थिएन । जनता समाजवादी सरकारबाट बाहिरिएपछि सो प्रदेशमा राजनीतिक अस्थिरता सुरु भएको छ ।

निर्वमान मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको सत्ता गुमाउनुको रोष प्रधानमन्त्री प्रचण्डसँग पोखे । उनले भने,’जुन देशका प्रधानमन्त्रीले आफैंले उथलपुथल गर्छु भन्नु भएको छ । उहाँले शान्ति सुव्यवस्था पो गर्ने हो । तर उहाँकै कारणले संघीयता धरापमा परेको छ । उथलपुथल गर्छु भन्ने प्रधानमन्त्रीबाट संघीयता बच्न सक्दैँन ।’

मधेश प्रदेशको नेतृत्व गुमाउनुमा केन्द्र नै निर्णायक देखिएको छ । केन्द्रका राजनीतिक गतिविधिले जसपा नेपाल दुई भागमा विभाजन भयो । पार्टी विभाजनपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरिदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लियो । त्यसपछि फेरि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुपर्ने बाध्यता सिर्जना भएको थियो । केन्द्रमा जसपा नेपाल बाहिरिएपछि मधेश प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसयता जसपा नेपालको सरकार अल्पमतमा परेको थियो । यसअघि कुनैपनि केन्द्रको समिकरणले दबाब र प्रभावमा नरहेको मधेश प्रदेश वर्तमान राजनीतिक घटनाले भने नराम्रोसँग प्रभावमा परेको छ । यो क्रम यतिमा मात्र रोकिने छैन । अब केन्द्रमा परिवर्तन हुने हरेक समिकरणले त्यहाँको राजनीतिलाई प्रभाव पार्नेछ । एक किसिमले भन्ने हो भने स्थिर मधेश प्रदेशको राजनीतिमा अस्थिर गतिविधि सुरु भएका छन् ।

मधेश प्रदेशको सरकार परिवर्तन हुनुमा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल केन्द्र सरकारमा आएको समिकरण फेरबदलका कारणले भएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनियोज्जित ढंगबाट जसपा फुटाएरको समेत आरोप लगाए ।

संघीयताको मर्म र भावनाअनुसार राजनीतिक गतिविधि अघि नबढ्दा मुलुक थप संकटमा पर्दैछ । मुलुकले धान्नै नसक्ने आर्थिक बोझ बढ्ने तर नेतृत्वले परिणाम नदिने भएपछि संघीयताको औचित्य कसरी पुष्टि होला ?