images

संघीयताविरोधीहरू व्यवस्थाप्रति अनास्था फैलाउने कोसिसमा छनः प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताविरोधीहरू प्रदेशमा आक्रमण गरेर व्यवस्थाप्रति अनास्था फैलाउने कोसिसमा रहेको आरोप लगाएका छन् । शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तर प्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफलका क्रममा उक्त कुरा बताएका हुन् ।

छलफलका क्रममा उनले भने, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ। यहाँ सङ्घीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोसिसमा छन्। त्यस्तो प्रवृत्तिलाई हामीले निरुत्साहित गर्नुपर्छ। जनतालाई राम्रो डेलिभरी दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्‍याउन आफूले पहल गरिरहेको समेत स्पष्ट पारे ।

छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्री, कानुन मन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख र उपसभामुख, नेपाल सरकारका मुख्यसचिवलगायतको उपस्थिति रहेको थियो ।