images

गाँजाको व्यावसायिक उत्पादन र अध्ययन कानुनी रूपमा तत्काल सहज बनाउन सरकारलाई निर्देशन

काठमाडौं–गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानुनी रूपमा सहज बनाउने सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति डा।आरजु राणाले बजेटमा उल्लेख गरेको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने कानुन निर्माण गर्ने विषयलाई कार्यान्वयन सहज वातावरण बनाउन गृह र अर्थ मन्त्रालयलाई अनुरोध गरिन् ।

उनले गाँजा खेतीका विषयमा सबै नागरिकलाई सरकारले गरिरहेको काम र नीतिका विषयमा चासो बढाएको बताइन् । उनले गृह मन्त्रालयबाट सुरु हुने पर्ने प्रथम पाइलालाई मन्त्रालयले एक महिना भित्र नियमावली बनाउने प्रतिबद्धता सकारात्मक भएको बताइन् । उनले एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृह मन्त्रालयले बनाउने नियमावली बनाएर समितिलाई बुझाउन आग्रह गरिन् । उनले तीन महिनासम्म सरकारले गर्ने काम हर्ने आवश्यकता अनुसार उपसमिति बनाएर गाँजा खेतीको विषयमा आवश्यक काम गर्ने बताइन । उनले अर्थ र गृह मन्त्रालयलाई गाँजा व्यावसायिक उत्पादन गर्ने लगायत विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन समेत दिइन् ।

उनले भनिन्,‘गाँजा खेतीका विषयमा सबै नागरिकलाई सरकारले कति लगिरहेको छ भन्ने चासो लागेको छ । गृह मन्त्रालयबाट सुरु हुने पर्ने प्रथम पाइला गृह मन्त्रालयले एक महिना भित्र नियमावली बनाउँछु भन्नुभएको छ । गृह मन्त्रालयलाई समिति सहयोग गर्न तयार छ । एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृह मन्त्रालयले बनाउने नियमावली बन्यो भने खुसी हुन्छौँ । तीन महिनासम्म सरकारले गर्ने काम हेर्छौ । आवश्यक परे उपसमिति बनाएर काम गर्छौँ । समितिले अर्थ र गृह मन्त्रालयलाई गाँजा व्यावसायिक उत्पादन गर्ने लगायत विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन दिन चाहन्छु । गाँजा खुला गर्दा हुने नकारात्मक पक्षलाई पनि आत्मसाथ गरेर जानुपर्छ । गाँजाको अध्ययन र अनुसन्धान गर्न तत्काल चाँडो खोल्न गृह मन्त्रालयलाई अनुरोध गर्दछु ।’

उनले गाँजा खुला गर्दा हुने नकारात्मक पक्षलाई पनि आत्मसाथ गरेर जानुपर्ने बताइन् । उनले गाँजाको अध्ययन र अनुसन्धान गर्न तत्काल बाटो खोल्न गृह मन्त्रालयलाई अनुरोध गरेकी छिन् ।