images

जसपा विभाजनसम्बन्धी मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं–जनता समाजवादी पार्टी नेपाल विभाजन सम्बन्धी विवादलाई पूर्ण इजलासमा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरू हरि फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको सर्वोच्च अदालतको वेइवसाइडमा उल्लेख गरेको छ ।

गत वैशाख २३ जसपा नेपालका ७ सङ्घीय सांसद सहितका नेताहरूले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले २४ वैशाखमा नै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी नाममा नयाँ दल दर्ता गरेको थियो ।

जसपा नेपालका अध्यक्ष  उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला दल विभाजन भएको थियो । दल विभाजनपश्चात   अध्यक्ष उपेन्द्र यादवले सरकारबाट बाहिरिँदै दल परित्याग गरेका सांसदहरूलाई अवैधानिक भन्दै काम गर्न रोकको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । अब उक्त विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।