images

राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव पेश

काठमाडौं– राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि जसरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेश गरेका हुन् । उनले सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उद्धार र उपचार, अपाङ्गता भएकालाई उचित प्रबन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुपरेको बताए ।

सांसद शेर्पाले भने, ‘नेपालमा हरेक वर्ष सवारी दुर्घटना र त्यसबाट भएको जनधनको क्षतिको बारेमा समाचार आइरहेका छन् । गएको महिना वैशाखको १ देखि ३० गतेसम्मको अवधिमा देशभर भएका १५९४ सवारी दुर्घटनामा परी १८१ जनाको मृत्यु भएको छ भने ४८७ जना गम्भीर र २ हजार २३४ जना सामान्य घाइते भएका छन् । चालू आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार, २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ५ हजार ९४ जना गम्भीर र २१ हजार १४१ जना सामान्य घाइते भएको प्रहरीको तथ्याङ्क छ । सवारी सुरक्षामा देखिएको यस प्रकारको समस्याले मुलुकले झन्डै १२ अर्ब २८ करोड बराबरकाको क्षति व्यहोर्नु परेको छ । तसर्थ सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उद्धार र उपचारको, अपाङ्गता भएकालाई उचित प्रबन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको हो । ’

प्रस्तावमा चालु आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार, २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको उल्लेख गरिएको छ । सो जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक सांसद शेर्पा रहेका छन् भने सांसदहरू जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी शाह ९गरिमा०, मोहम्मद खालि, तुलप्रसाद विश्वकर्मा र शेखरकुमार सिंह समर्थक रहेका छन् ।