images

अहिलेको समावेशितालाई कुनै पनि शासक वर्गले चाहँदा उखेलेर फाल्न सक्छः अध्यक्ष यादव

काठमाडौं–जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको समावेशिता शासक वर्गले चाहेसम्म मात्रै रहने किसिमको रहको बताएका छन् ।

सोमवार जनकपुरमा सुरु भएको पार्टीको राष्ट्रिय महाधिवेशनको अवसरमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले अहिले केही हदसम्म मात्रै समावेशिता रहेको र समावेशिता कुनै पनि शासक वर्गले चाहेको खण्डमा उखेलेर फालिदिन सक्ने किसिमको रहेको बताए । उनले अहिले पाएका अधिकारलाई बचाउन र मजबुत बनाउन लाग्नुपर्ने बताए । दुई तिहाइभन्दा बढी सीमान्तकृत जनता दिनदिनै पछाडि पारिँदै आएकाले मुलुक पछाडि पर्दै आइरहेको बताए ।

अध्यक्ष यादवले सीमान्तकृत समुदायलाई पछाडि पारिएकाले मुलुक गरिबीतर्फ धकेलिँदै गइरहेको र दुई तिहाइभन्दा बढी जनसङ्ख्या रहेको सीमान्तकृत समुदायलाई पछाडि पार्दा मुलुक कुनै पनि हालतमा विकसित मुलुक तथा समाजवादतर्फ अग्रसर हुन नसक्ने बताए ।

उनले भने, ‘आज केही हदसम्म समावेशिता छ । तर यो पनि यति कमजोर छ की यसलाई शासक वर्गले चाहने हो भने उखेलेर फालिदिन सक्छ । जो अधिकार प्राप्त भएका छन्, त्यसलाई बचाऔँ । त्यसलाई अझै मजबुत गरौँ । जो बाँकी छ, त्यसलाई पाउन सङ्घर्षबाट अघि बढौँ । हाम्रो सङ्घर्ष, विभेद, असमानता हुन नदिनका लागि हुनुपर्छ ।’

अध्यक्ष यादवले मधेस आन्दोलन नभएको भए मुलुकमा सङ्घीयता, गणतन्त्र नेपालमा कहिल्यै नआउने बताउँदै प्राप्त अधिकारहरूलाई संरक्षण गर्नका लागि निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरे । सोमवारबाट जनकपुरधाममा सुरु भएको जसपा,नेपालको एकताको राष्ट्रिय अधिवेशनको बन्द सत्र आज ९मङ्गलवार० बिहानबाट सुरु भएको छ । बन्द सत्रमा जसपा नेपालका अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।