images

बयलपाटा अस्पतालका लागि तत्काल कम्तीमा १० करोड बजेटको व्यवस्था गर्नुपर्छः सांसद पाण्डे

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तीमा १० करोड बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा सुरुमै समय लिएर बोल्दै उनले सो अस्पताल बजेटको अभावमा बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै चालु आर्थिक वर्ष भित्र आवश्यक बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । उनले त्यसका लागि आफूहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई भनेको र प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमानले पनि त्यसका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सांसद पाण्डेले अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरूमा एक वर्षमा करिब १ लाख सेवाग्राहीले निःशुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने सो अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेर उचित वातावरण निर्माण गर्न सङ्घीय सरकारले ढिलाइ नगर्ने विश्वास समेत व्यक्त गरे । उनले सुदूरपश्चिम प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षका लागि विनियोजन हुने बजेटमा सो अस्पतालका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए ।

सांसद पाण्डेले भने, ‘अछाम जिल्लाको बलयपाटा अस्पताल १६ वर्षदेखि नेपाल सरकारसँगको सहकार्यमा न्याय हेल्थ नेपाल नामक संस्थाले सञ्चालन र व्यवस्थापन गर्दै आएको छ । अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरूमा एक वर्षमा करिब १ लाख सेवाग्राहीले त्यहाँ निःशुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने गर्दछन् । करिब ८ सय जति मेजर सर्जरीहरू हुने गर्दछ । यो अस्पताल आधुनिक तरिकाले सञ्चालित छ । यसमा आर्थिक पारदर्शिता पनि छ । यो अत्याधुनिक तरिकाले सञ्चालित, गुणस्तरीय सेवा प्रदान गरिरहेको कोभिडको महामारीपछि यसको डोनेसन कम हुँदै गयो । अहिलेको बजेट भाषणमा प्रदेश सरकारले छुटाएन बजेट पनि । अहिले त्यो अस्पतालमा बडो कठिन अवस्था सृजना भएको छ । दुर्गम ठाउँमा २ जना विशेषज्ञ डाक्टर सहित नौ जना डाक्टरहरू हुनुहुन्छ । १९७ जना अरू स्टाफहरू हुनुहुन्छ । महिनौँदेखि उहाँहरू तलबबाट वञ्चित हुनु भएको छ । जसका कारणले यो अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । यस पटक पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट असार १ गते आउँदै छ । यसका बजेटको व्यवस्था गरिदिन आग्रह गरेका छौं । यदि यो असार मसान्त भित्रै बजेट नहुने हो भने अर्थमन्त्री, प्रधानमन्त्री र सिङ्गो सांसदलाई यही आर्थिक वर्ष भित्रै कम्तीमा पनि ९÷१० करोड विशेष अनुदानको व्यवस्था गरेर बयलपाटा अस्पताललाई सुचारु गर्न, अगाडि बढाउन र दुर्गम क्षेत्रका नागरिकहरूले पाएका सेवा सुविधाहरूलाई निरन्तरता दिन सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद पाण्डेले सो अस्पतालमा चिकित्सकसहित कर्मचारीहरूले तलबसमेत नपाएको उल्लेख गर्दै सरकारले चालु आर्थिक वर्ष असार भित्रै आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए ।