images

सडक मर्मतको माग गर्दै टायर बालेर सडक जाम

सर्लाही–वर्षौँदेखि जीर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भई पटक पटक दुर्घटना समेत हुँदै आएको भन्दै सर्लाहीको कौडेना गाउँपालिका वडा न.४ मोतीपुरका स्थानीय बासीहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
मङ्गलवार गाउँपालिकाको वडा न.४ मोतीपुर गाउँलाई सदरमुकाम मलंगवासँग जोड्ने ३ किलोमिटर लामो सडक खण्डमा बिहानैदेखि स्थानीय बासीहरुहरुले टायर बालेर सडक अवरुद्ध पारेका हुन् ।
 सडकमा भएका ठुला–ठुला खाल्डाखुल्डीका कारण दिनहुँ जसो दुर्घटनाहरू हुने गरेको स्थानीयको भनाई रहेको छ । साथै सोमबार राती पनि  उपचार गराउन टेम्पुमा चढेर मलंगवातर्फ जाँदै गरेकी एक गर्भवती महिला सडकमा भएका खाल्डाखुल्डीका कारण टेम्पुबाट लडेर गम्भीर घाइते भएकी थिइन । साथै उनको पेटमा भएको बच्चा समेतको ज्यान गएपछि स्थानीयले आक्रोशित हुँदै विरोध प्रदर्शन गरेको स्थानीय विशाल साहले बताए । सडक मर्मतको लागि पटक पटक सम्बन्धित निकायलाई भन्दा पनि चासो नलिएका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको साहले बताए।
आफूहरूको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने  स्थानीयहरूले चेतावनी दिएका छन्।