images

आए त्यत्तिकै आइहाल्छ नत्र सरकारमा जाने हतारो छैनः डा. कोइराला

काठमाडौं–नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भूमिकालाई बलियो बनाएर जाने बताए । उनले सरकारका लागि आफैँ प्रस्ताव आए जाने तर कोसिस गरेर मरिहत्ते नगर्ने जिकिर गरे । उनले क्रिमिनलाइजेशन इन पोलिटिक्स गम्भीर बनेको बताए । उनले सहकारी मात्रै नभई अन्य धेरै ठाउँहरूमा अख्तियार,निर्वाचन आयोग, सिआईबी लगायतले दुःख दिइरहेको बताए । उनले दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान नसकिने बताए । उनले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान नसकेसम्म देश बन्न नसक्ने बताए ।

उनले भने, ‘अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको छ । बैङ्कको तरलता जस्तो होइन, देशकै अवस्था तरलता छ । आठ वटा सरकार देखिरहनुभएको छ । सात वटा प्रदेशमा एउटा केन्द्रमा । आठ वटा सरकार छ, आठ वटा सरकार डेढ वर्षमा २३ पटक परिवर्तन भएछ । हामीले कस्तो संविधान बनाएछौँ, हामीहरूको कमी, कमजोरी हो की होइन रु राजनीतिक दलहरूले यो कुरालाई अत्यन्त गम्भीर रूपमा लिएर जानुपर्छ । यो अत्यन्त गम्भीर विषय हो । राजनीतिक स्थिरता वा सरकारको स्थिरता बिना जतिसुकै कुरा गरेर पनि आर्थिक स्थिरता र विकास हुन सक्दैन । राजनीतिक स्थिरता र सरकारको स्थिरता बिना सुशासन पनि हुन सक्दैन । यो यसरी एक दोस्रोसँग गाँसिएको छ, जबसम्म हामीले राजनीतिक र सरकारको स्थिरताका विषयलाई टुङ्गो लगाउन सक्दैनौं, देश यस्तै घच घचमा चलिरहेको हुन्छ । हामी विपक्षमा छौं, हामीले विपक्षको भूमिका खेल्ने हो, सरकारमा जाने हामीलाई कुनै हतारो छैन । आउने भए त्यसै आउँछ, होइन भने कोसिस गरेर मरिहत्ते गरेर जसरी जान खोजिरहेका छौँ, अन्य दलहरू हामी छैनौँ । आदरणीय साथीहरू अहिले गम्भीर विषय के भएको छ, क्रिमिनलाइजेशन इन पोलिटिक्स । अत्यन्त गम्भीर भएर गइरहेको छ । तपाईँहरूले देखिरहनुभएको छ, सहकारी मात्रै होइन, अनि धेरै ठाउँहरूमा अनावश्यक हिसाबले अख्तियारले, अनावश्यक हिसाबले निर्वाचन आयोगले, सिआईबीले दुःख दिइरहेको छ । यो दुर्भाग्य हो, किन भइरहेको छ, यो कुरा राजनीतिक दलहरूको बीचमा छलफल हुन अत्यन्त जरुरी छ । केको लागि गरिरहेको छ । दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान सक्दैन । राजनीतिज्ञ, ब्युरोकेट्स र व्यापारी, व्यवसायीहरू एक ठाउँमा उभिइसकेपछि त्यो अत्यन्त गाह्रो हुन्छ । जबसम्म हामीले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान सक्दैनौँ, तबसम्म यो देश अघि बढ्न सक्दैन । यो देशमा आर्थिक विकास हुन सक्दैन ।’

उनले अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको बताए । उनले आठ वटा सरकार डेढ वर्षमा २३ पटक परिवर्तन भएको भन्दै संविधानका बारेमा सबै राजनीतिक दलहरूले एक पटक गहन रूपमा छलफल गर्न आवश्यक रहेको बताए ।