images

सरकारको विपद् पूर्व तयारी सन्तोषजनक भएनः एमाले सचिव भट्टराई

काठमाडौं– नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले सरकारको विपद्पूर्वतयारी सन्तोषजनक नरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जलवायु परिवर्तनका कारण पूर्वानुमान नै गर्न नसक्ने गरी मौसमहरू प्रतिकुल हुँदै जाने, त्यसको असर आम मानिसहरूमा परिरहेको बताए । उनले विपद् पूर्व तयारीबाटै सरकारको तयारी सन्तोषजनक नरहेको बताए । सांसद भट्टराईले विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको बताए ।

प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्टाइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्न सक्ने अवस्था नरहेको बताए । विपद् उद्धारका लागि दक्ष जनशक्ति र पर्याप्त श्रोत साधन पनि नरहेको बताए ।

उनले भने ‘जलवायु परिवर्तनका कारण पूर्वानुमान नै गर्न नसक्ने गरी मौसमहरू प्रतिकुल हुँदै जाने, त्यसको असर आम मानिसहरूमा परिरहेको छ । तर त्यस आधारमा हाम्रो नेपालको, विशेष गरीकन सरकारको तयारी त्यति सन्तोषजनक छैन । विपद् प्राधिकरण बनाएका छौँ, यो कामको निम्ति, जम्मा वार्षिक १८ करोड बजेट विपद् प्राधिकरणलाई दिइएको छ, जसमा १५ करोड साधारण खर्च छ । तल भत्ता, पारिश्रमिकमा छ । जम्मा ३ करोड रुपैयाँले विपद् प्राधिकरणले के गर्न सक्छ रु त्यसै गरीकन हामीसँग दक्ष जनशक्ति छैन । हामीसँग आधुनिक साधनहरू छैनन् । जसले समयमै उद्धार हुनसक्ने अवस्थामा पनि हामीले गर्न सकिरहेका छैनौँ । सरकारले गर्न सकिरहेको छैन ।’

सचिव भट्टराईले भूकम्पलाई छोडेर बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक विपत्तिबाट वार्षिक ५ सय मानिसको अकालमा मृत्यु हुने गरेको भन्दै सरकारले गम्भीरताका साथ व्यवस्थापन गर्न माग गरे ।