images

रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु, मृतकको सङ्ख्या २५ पुग्यो

काठमाडौं– रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाही रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो । यो सँगै रुस युक्रेन युद्धमा मर्ने नेपालीको सङ्ख्या २५ पुगेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा गैर कानुनी रूपमा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा युक्रेनको कब्जामा रहेका पाँच नेपालीको अवस्था अझै अज्ञात रहेको जनाएको छ । यसरी कब्जामा रहेका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतिक पुन र गोरखाका ईश्वर लामिछाने छन् ।

नेपाल सरकारले रुसी सेनामा सहभागी नेपालीहरूको विवरण मागेको भए पनि रुसले भने हालसम्म उक्त विवरण नदिएको परराष्ट्र स्रोतले जनाएको छ । साथै घाइते र मृतकहरूको विवरण समेत सरकारले पाउन नसकेको जनाइको छ । नेपाल सरकारले रुसी सरकारलाई पटक९पटक गरेको आग्रह र पत्राचारका बाबजुद पनि रुसी विदेश मन्त्रालयले उक्त विषय रक्षा मन्त्रालयको भएको उल्लेख गर्दै नेपाललाई जवाफ दिन आनाकानी गरेको हो ।

सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैर कानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । यसैबीच रुस मामिलामा भइरहेको घटना र अहिले उत्पन्न सङ्कटका सम्बन्धमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा गठन भएको एक उच्च स्तरीय कार्यदलले काम गरिरहेको छ ।

नेपालले रुस–युक्रेनमा भर्ना नहुन अनुरोध गरे पनि मानव तस्करीहरूले विभिन्न प्रलोभन पारेर अवैध बाटो हुँदै त्यहाँ पुर्‍याउने गरेका छन् ।