images

सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छः सचेतक बराल

काठमाडौं–नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरेकी छिन् ।

नागरिकहरू आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गरिन् । उनले बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरिन् । उनले स्वास्थ्य बीमा गरेका नागरिकहरूले अर्को दर्जाको नागरिकमा दर्ता हुनु जस्तो गरेर व्यवहार गरिने भन्दै सो व्यवहार अन्त्य गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘आज हाम्रा सर्वसाधारण नागरिकहरू सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ । ९ बजे ओपिडी खुल्छ भने ५ बजेदेखि लाइन बस्ने ती नागरिकहरूका लागि सोच्नुपर्ने अवस्था छ । दुई चार वटा काउन्टर थपेर स्वास्थ्य सेवा सहज बनाउनका लागि अनुरोध गर्दछु । बिरामी दर्ता गर्दा एक पटक लाइन बस्ने, रिपोर्ट लिँदा अर्को पटक लाइन बस्ने, डाक्टरलाई फेरि रिपोर्ट देखाउँदा अर्को पटक लाइन बस्ने, पटक पटक लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ । स्वास्थ्य बीमा गरिएका नागरिकहरूले, बिरामीहरूले त्यो बीमा गर्ने कुरा अर्को दर्जाको नागरिकमा दर्ता हुनु जस्तो गरेर व्यवहार गरिन्छ, यो व्यवहारलाई अन्त्य गर्ने र हाम्रा सरकारी अस्पतालहरूका लाइन छोट्टाउने, यो संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढङ्गले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढङ्गले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।