images

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

काठमाडौं– किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परिवारले यस्तो माग गरेका हुन् । उनले सरकार मलको अभाव छैन भन्ने तर किसानले १० किलो भन्दा बढी मल नपाउने अवस्था रहेको बताए । उनले भक्तपुरका कृषि उब्जनी हुने मध्येपुर ठिमी र बोडे लगायतका किसानहरुले १० किलो भन्दा बढी मल नपाएको बताए ।

उनले मल अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गरे । उनले किसानहरुले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

उनले भने,‘सरकार मलको अभाव छैन भन्छ । तर भक्तपुरका किसानहरु १० किलो भन्दा मल पाउँदैनन् । भक्तपुरको नयाँ ठिमी,बोडे कृषि उब्जनी हुने क्षेत्र छ । तर सरकार मल अभाव छैन भन्छ अर्कोतिर मल पाइँदैन । कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन् । यो विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । कृषि उत्पादन बढाउनको लागि मलको व्यवस्था गरोस् ।’

उनले कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।