images

जहाँ हिन्दु र मुस्लिम एउटै मन्दिरमा पूजा गर्छन् !

सर्लाही– झट्ट सुन्दा अचम्म लाग्छ, हिन्दु र मुस्लिम सम्प्रदायको एउटै साझा धार्मिक थलो भन्दा । तर यो कुनै काल्पनिक कुरा नभएर यथार्थता हो सर्लाहीको मलङ्गबाबा मन्दिर । जहाँ मुस्लिम र हिन्दु धर्मालम्वीहरु मिलेरै पूजाआजा गर्ने गरेका छन् ।

हिन्दु र मुस्लिम २ फरक आस्था राख्ने धर्मालम्वीहरुले एउटै धर्म गुरुको पुजा आराधना गर्ने गर्दछन् । जसबाट धार्मिक सहिष्णुता र सद्भावको पाठ जोकोहीले सिक्न सकिन्छ । तर उक्त धार्मिक स्थल संरक्षण र प्रचारप्रसार अभावले ओझेलमा परेको छ ।

सर्लाही जिल्लाको सदरमुकाम मलंगवास्थित मलङ्गबाबा मन्दिर मुस्लिम र हिन्दु धर्मालम्वीहरुको साझा धार्मिक थलो हो । हिन्दु धर्मावलम्बीहरूले सन्त मलङ्गबाबाको मन्दिर र मुस्लिम धर्मावलम्बीहरूले मलङ्गबाबाको मजार नामाकरण गरेर आ–आफ्नो आस्था प्रकट गर्दै आइरहेका छन् । यस ठाउँलाई विभिन्न जातजाति, भाषा, धर्म तथा सम्प्रदायका व्यक्तिहरुबीचको संयुक्त आस्था र भरोसाको केन्द्रको रूपमा लिइन्छ ।

अनौठो तथ्य त के छ भने एउटै थलोबाट एकै ठाउँमा बसेर दुई फरक धार्मिक आस्था बोकेका धर्मालम्वीहरुले आस्था प्रकट गरिरहेका हुन्छन् । मलङ्गबाबाका मोल्वी अकबर अलि साहका अनुसार, सन्त मलंगवावा अर्थात् मोहम्मद जन्नत अलि शाह उर्फ हाजी मलंग जिन्दा शाह एक अलौकिक शक्ति भएका योगी अर्थात् फकिर थिए । उनका अनुसार हिन्दु सम्प्रदायका मान्छेहरू समेत आएर आफ्नै शैलीमा पूजा आजा गर्ने गरेका छन् । हिन्दु धर्मावलम्बीले भने अलौकिक शक्तिको प्रभावले कुनै समयमा यहाँका बासिन्दाले रोगव्याधी, प्राकृतिक विपद्, अनिकालबाट मुक्ति पाउने विश्वास लिने गरेका छन् ।

प्राचीन समयमा सन्त मलंगबाबा बस्दै आएको सो ठाउँमा उनको मृत्युपछि मुस्लिम संस्कार अनुसार त्यही दाहसंस्कार गरिएको थियो । उनै मलंगबाबाको नाम बिस्तारै अपभ्रंश हुँदै यस ठाउँको नाम मलंगवा रहन गएको किम्वंदती भनाई रहेको अकबर अलि साह बताउँछन् ।

मलंगबाबाको जन्म चैत महिनामा भएको विश्वास छ । जसअनुसार उक्त महिनामा त्यहाँ मेला लाग्ने गरेको छ । उक्त मेलामा दुवै सम्प्रदायले एकैसाथ पूजा गर्ने तथा चादर पोसी अर्थात् मलंगबाबाको समाधिमा चादर चढाउने गरेका छन् । मलगबाबाको दर्शनका लागि सर्लाहीसहित रौतहट, महोत्तरी, धनुषा, बारा, पर्सा, सिरहा, सप्तरी तथा छिमेकी राष्ट्र भारतबाट समेत श्रद्धालुहरू ठुलो सङ्ख्यामा आउने गरेको स्थानीय उग्रकान्त झा बताउँछन् ।

दुई फरक धर्मको साझा केन्द्र मलंगबाबाको प्रचारप्रसार तथा यस क्षेत्रलाई वहुधार्मिक आस्थाको केन्द्रको रूपमा विकास गर्न स्थानीय तहले पनि प्रयास गरिरहेको मलंगवा नगरपालिकाका वडाध्यक्ष मुकेश जयसवालले बताए । उनका अनुसार स्थानीय तहले मात्रै पर्याप्तता नभएको बताए ।

मन्दिर जीर्ण बन्दै गएकाले मन्दिरको पुनर्निर्माण ,मन्दिर परिसरको सौन्दर्यीकरण, पाटी पौवा निर्माण र आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि धर्मशाला लगायतका भौतिक पूर्वाधार तत्काल निर्माण गर्नुपर्ने देखिन्छ । यस क्षेत्रको संरक्षण प्रवर्द्धनसँगै प्रचार प्रसारमा ध्यान दिने हो भने पर्यटकको चाप बढ्ने जानकारहरूको सुझाव छ ।