images

पहिरोमा परी ताप्लेजुङमा एकै परिवारका चार जनाको मृत्यु,दुई जना घाइते

काठमाडौं–गए राति गएको पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम टिन्जामा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलका अनुसार मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तान रहेका छन् ।

बाढीले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका बुवा ७० वर्षीय रामबहादुर लिम्बु, आमा ५० वर्षीया जसमाया र दुई जुम्ल्याहा बहिनी ९ वर्षीया गङ्गा र जमुनाको निधन भएको हो। राति सुतिरहेका बेला माथिबाट खसेको पहिरोमा उनीहरू पहिरोमा पुरिएका हुन् ।

त्यस्तै खेजेनिम मावि छेउमा गएको अर्को पहिरोमा परी ४० वर्षीय युगेन साम्रा र उनका तीन वर्षीया छोरी घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर बगाउँदा ५० वटा बाख्रा र ३० वटा कुखुरासमेत मरेको प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।