images

मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्ध स्तरमा तयारी गर्न सांसद केसीको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्ध स्तरमा तयारी गर्न माग गरेका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले सरकारसँग यस्तो माग गरेका हुन् । उनले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औँ स्थानमा रहेको बताए । उनले भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी,पहिरो,चट्याङले ठुलो क्षति पु¥याएको र आगलागीबाट प्रत्येक वर्ष दुई अर्ब भन्दा नोक्सानी र सयौँ नेपाली ज्यान गुमाउनु परेको बताए । उनले विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र ४ लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको बताए । उनले पहिला भएका घटनाको अहिलेसम्म पुनः स्थापनाका लागि काम गर्न नसकेको बताए ।

उनले भने ‘विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औँ स्थानमा छ । भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी,पहिरो,चट्याङले ठुलो क्षति पु¥याएको छ । आगलागीबाट प्रत्येक वर्ष दुई अर्ब भन्दा नोक्सानी र सयौँ नेपाली ज्यान गुमाउनुपरेको छ । विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र ४ लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको छ । ४ सय बस्ती उच्च जोखिममा छ । पहिला भएका घटनाको अहिलेसम्म पुनः स्थापना हुन सकेको छैन भने सरकार युद्ध स्तरमा आउनुपर्ने हो त्यसरी आउन सकेको छैन । कर्णप्रिय नारा र निर्देशनमा अलमलिएको छ । सरकारले विपत् जोखिम न्यूनीकरणका लागि युद्ध स्तरमा तयारी गरोस् ।’

उनले सरकार विपद् जोखिमको लागि काम गर्ने भन्दा पनि कर्णप्रिय नारा र निर्देशनमा अलमलिएको आरोप लगाउनु भयो । उहाँले सरकारले विपद् जोखिम न्यूनीकरणका लागि युद्ध स्तरमा तयारी गर्न आवश्यक रहेको बताए ।