images

भारतीय पर्यटकहरूलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियोः सांसद राणा

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जङ्गबहादुर राणाले भारतीय पर्यटकहरूलाई नेपालमा डाकाको जस्तो व्यवहार गरिएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतीय पर्यटकहरू भूमार्ग हुँदै नेपालमा आउँदा डाँकाको जस्तो व्यवहार गरिएको बताएका हुन् । उनले भारतीय पर्यटकहरूलाई कडाइपूर्वक चेकिङ गरिने गरेको बताए । उनले पर्यटकहरूलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भारतीय नोट हजार र पाँच सयको ल्याएमा सशस्त्र प्रहरीले बोर्डरमै दुर्व्यवहार गर्ने गरेको भन्दै त्यस्तो नहुने व्यवस्था मिलाउन प्रधानमन्त्री र पर्यटन मन्त्रीलाई आग्रह गरे ।

उनले भने – ‘हामी छिमेकी मूलका पर्यटकहरूलाई धेरै वास्ता गर्दैनौँ । अहिले चीन र भारतका पर्यटकले विश्व छाएका छन् । हाम्रा त अलग बगलमा छन् । तर हामीले सहजीकरण गर्दैनौँ । ल्यान्ड रुटबाट भारतीय मोटरमा पर्यटक आउँदा खेरी नेपालमा डाका पसेको जस्तो व्यवहार गरिन्छ । दश ठाउँमा चेकिङ गरिन्छ । उसको कागज र सामान हेरिन्छ । आजकालको जमानामा नेपालमा नै आउनुपर्ने छैन । जहाँ बसेर जहाँ गए पनि हुन्छ । हामीले आउने हाम्रो पर्यटकहरूलाई सम्मानका साथ, इज्जतका साथ हाम्रो देशमा स्वागत गर्नुपर्ने आवश्यकता छ । यसमा सरकारले ध्यान दिनुपर्छ । हामीले के नियम गरेको छौँ रु ५०० रुपैयाँ र हजार रुपैयाँभन्दा कमको मात्रै भारु नोट ल्याउन पाइन्छ । ५०० को नोट ल्यायौँ भने बोर्डरमा सशस्त्रले समातेर दुर्व्यवहार गर्छ । अनि हामीले पर्यटनको कुरा गर्छौ ? यी सब फाल्तु कुरा हुन् । मिलाउनुस् प्रधानमन्त्रीज्यू । पर्यटनमन्त्रीज्यू । यो के तमासा गरेको ? आजकालको जमानामा ५०० रुपैयाँको नोट जेपमा नहालेर आउन् ? के गर्न खोजेको ? के भन्न खोजेको ?’

उनले नजिकैको पर्यटकहरूलाई बेवास्ता गर्नु नहुनेमा जोड दिए ।