images

१० बुँदे सहमतिपछि कावासोतीको आन्दोलन स्थगित

काठमाडौं–पूर्वी नवलपरासी जिल्लाको सदरमुकाम कावासोती घटनाका बारेमा १० बुँदे सहमति भएको छ । ढल निर्माणका क्रममा असावधानीले बिहीबार तीन महिला मजदुरको मृत्यु भएपछि स्थानीयहरूले शुक्रवार विरोध प्रदर्शन गर्दै आन्दोलनमा उत्रिएका थिए ।

मृतकका आफन्त र नगरपालिकाका प्रतिनिधिबीच १० बुँदे सहमति भएको पश्चात् आन्दोलन स्थगित भएको हो । मृतकका परिवारलाई तत्काल राहत स्वरुप नगद ५/५ लाख रुपैयाँ दिने, ५० हजारका दरले प्रतिपरिवार किरिया खर्च उपलब्ध गराउने, मृतकका एक/ एक बालबच्चाका नाममा ५ लाखका दरले अक्षयकोष स्थापना गर्ने, घटनास्थलमा मृतकको शिलालेख राख्ने सहमति भएको छ । त्यसै गरी मृतकका परिवारलाई रोजगारी दिने र रोजगारीको पुस्तान्तरण गर्दै जाने सहमति भएको छ ।

पीडित तीन परिवारका सबैको स्वास्थ्य बिमा गर्दै जाने, मृतकका सबै बालबच्चालाई कक्षा–१२ सम्म अध्ययन खर्च(मासिक शुल्क) र स्टेशनरी बापतको खर्च समेत नगरपालिकाले बेहोर्ने, मृतकको परिवारको घरको अवस्था अवलोकन गरी कमजोर वासस्थान भएका परिवारलाई आवासको व्यवस्था गर्ने र शव व्यवस्थापन गर्दा लाग्ने सबै खर्च नगरपालिकाले बेहोर्ने लिखित सहमति भएको छ ।

सहमतिमा कावासोती नगरपालिकाका तर्फबाट उपमेयर फुलकुमारी थनेत र पीडित पक्षले हस्ताक्षर गरेका कावासोती नगरपालिकाका प्रवक्ता डोरमान गिरीले जानकारी दिए ।

कावासोती नगरपालिका९२ फलफूल चोकमा नाला निर्माणमा खटिएका कावासोतीका ५१ वर्षिया सेती राना, २६ वर्षकी तानमया मस्रांगि र ३२ वर्षिया चमेली सिंजालीको खन्ने क्रममा ढिस्कोले पुरेर मृत्यु भएको थियो ।

घटनाको विषयमा आन्दोलनमा उत्रिएका स्थानीयवासीले पूर्वी नवलपरासीको कावासोती नगरपालिका कार्यालय र मेयर विष्णुप्रसाद भुसालको घरमा तोडफोड गरेका थिए ।

घटनामा परेर ४ जना प्रहरी सामान्य घाइते भएका छन् । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।