images

राष्ट्रपति स्वदेश फिर्तापछि मन्त्रीपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी 

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने भएका छन् ।
त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसकेका छन् ।  प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन् । अहिले राष्ट्रपति स्वदेशमा नभएकाले उनी फर्के लगत्तै मन्त्रीमण्डल पुनर्गठन गर्ने सोचमा प्रधानमन्त्री छन् ।
 हाल सरकारमा एमाले, माओवादी, एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी छन् । अबको मन्त्रीमण्डल हेरफेर र विस्तारमा हालका केही मन्त्री हटाएर मन्त्रालय खाली गर्ने र नयाँलाई समेट्ने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । यसो गर्दा माओवादी केन्द्र र एमालेका एक एक जना मन्त्री फिर्ता गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दा अध्यक्ष ओलीले बजेट पास भएपछि मात्र मन्त्रीमण्डल हेरफेर र पुनर्गठन गर्न सकिने भनेर सहमति दिएको बुझिएको छ ।
दुई नेताबिच भएको सहमति अनुसार माओवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका हितराज तामाङ र एमालेबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई फिर्ता बोलाउने तयारी छ । मन्त्रीमण्डल पुनर्गठनमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ नै सरकारमा जाने तयारीमा छन् । श्रेष्ठले पर्यटन मन्त्रालय आफूले पाउने गरी प्रधानमन्त्रीसँग छलफल भएको स्वीकार गरिन् ।