images

गृहमन्त्री लामिछानेलाई निलम्बन मागको रिट न्यायाधीश शर्माद्वयको इजलासमा

काठमाडौं–उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको मागसहित दायर भएको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा पेशी तोकिएको छ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट पहिलो नम्बरमा पेशी तोकिएको छ। रिटमा महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट ’ देखिने गरी पत्र दिएको भन्दै उनलाई समेत कारबाहीको माग गरिएको थियो ।

उक्त पत्र संसद् देखि राजनीतिक दलको बैठकमा गृहमन्त्री लामिछानेले पेस गर्दै आफू कुनै पनि ठगीमा संलग्न नभएको जिकिर गरेपछि पत्र विवादमा परेको थियो । उक्त पत्रलाई पनि बदर गर्नुपर्ने र लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा पूरक जाहेरी परेको र अन्य अदालतमा पनि अभियोग पत्रमा नाम उल्लेख भएको दाबी गर्दै निलम्बनमा माग गरिएको थियो ।

रिटमा एकल इजलासले कास्कीको जाहेरी माग गरेको थियो भने संयुक्त इजलासले जेठ २८ गते रुपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्र मगाएको थियो । बहसका क्रममा निवेदकहरूले उनी विरुद्धका सबै विवरण मगाउनुपर्ने भनी कुरा उठाएका थिए । साथै अदालतले उक्त मुद्दालाई अग्राधिकार राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।