images

कर्णाली प्रदेशका सडकमा बजेट नछुट्टाए संसद् भवन घेराउ गर्ने सांसद थानीको चेतावनी

काठमाडौं–नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्टाए संसद् भवन घेराउ गर्ने चेतावनी दिएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुटाएको भन्दै आपत्ति जनाएका हुन् । उनले कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु राजमार्ग बनेका बताए । उनले सरकारले यसै गरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरूले संसद् भवन घेराउ गर्ने चेतावनी दिए ।

उनले भने,‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ? अहिलेको सरकारले समानुपातिक दिन्छु भनेको कुरा यही कर्णालीलाई मृत्यु राजमार्ग वहन गर्न दिएको हो ? त्यसैले म भन्न चाहन्छु, यदि यही तरिकाले सरकारले ग¥यो भने कर्णालीका प्रदेशका सांसदहरूले संसद् घेराउ गर्नुपर्ने छ । मन्त्रालय घेराउ गर्नुपर्ने छ । यदि सचेत भएर यी बाटाहरूमा बजेट छुट्टाइएन भने हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भन्ने कुरा म सरकारलाई भन्न चाहन्छु ।’

सांसद थानीले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताए ।