images

प्रहरी प्रमुखलाई हटाउने तयारीमा गृहमन्त्री लामिछाने, प्रधानमन्त्री असन्तुष्ट !

काठमाडौं–उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नेपाल प्रहरीका प्रमुख वसन्त कुँवरको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । आफू अनुकूलको काम गर्न नसकेको भन्दै लामिछानेले प्रहरी प्रमुख नै फेर्ने तयारी गरेका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तयार नभएपछि उनेको यो योजना सफल हुन सकेन । दाहालले त सार्वजनिक रूपमै प्रहरी प्रमुख फेर्ने अवस्था नहरेको बताएका छन् । यी विषयलाई लिएर सत्तारुढ दलहरुबीच नै दरार आउने अवस्था आएको विश्लेषण हुन थालेको छ ।

कुनै समय राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको खुलेरै बचाउ गरेका प्रहरी प्रमुख वसन्तबहादुर कुँवर अहिले उनै मन्त्रीको निशानामा परेका छन् । सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई प्रमुख कुँवरले कुनै पनि उजुरी र प्रमाण नरहेको भनेर खुलेरै बचाउ गरेका थिए । प्रहरी प्रमुखजस्तो संवेदनशील ठाउँमा भएको व्यक्तिले कुनै आरोपित व्यक्तिका सन्दर्भमा यसका खालको बचाउ असान्दर्भिक भएको भन्दै उनको विरोध पनि भएको थियो । अहिले उनको कार्यशैलीलाई लिएर मन्त्री लामिछाने असन्तुष्ट छन् । लामिछानेको असन्तुष्टि केवल असन्तुष्टिमा मात्र सीमित छैन, नेतृत्व परिवर्तनसम्म नै पुगेको देखिन्छ । तर, यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्री लामिछानेबीच नै मत बाझिएको छ । अर्थात् प्रहरीको नेतृत्व चयनमा तत्कालै निर्णय हुन नसक्नेमा प्रधानमन्त्री दाहाल अडिग देखिएका छन् ।

गृह मन्त्रालयमा दोस्रो पटक बहाल भएका लामिछानेप्रति त्यति बेला नै थुप्रै आशङ्काहरू थिए । उनले आफू मुछिएका केही प्रकरणमा अनुसन्धान नै प्रभावित बनाउने आशङ्का थियो । हुन पनि घटनाक्रम अहिले त्यसरी नै अघि बढिरहेको जस्तो देखिन्छ । प्रहरी प्रमुखलाई प्रयोग गर्नेदेखि महान्यायाधिवक्ताको कार्यालयलाई समेत देखाएर लामिछाने निर्दोष भएको दाबी गर्दै छन् । तर, यो विषय अहिले अदालतमा विचाराधीन अवस्थामा छ । अदालतले यसमा स्पष्ट दिशानिर्देश गर्ने नै छ । लामिछानेलाई जोगाउन अनुसन्धान गर्ने निकायलाई यसरी दुरुपयोग गरिएको भन्दै अहिले पनि आलोचना भइरहेको छ । ठिक यही बेला लामिछाने प्रहरीको नेतृत्व परिवर्तन गर्ने तयारीमा अघि बढ्नुले पनि यसलाई बल पुगेको छ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा लामिछाने र प्रहरी प्रमुख कुँवरबीच विवाद देखिएको जानकारहरू बताउँछन् । त्यसलाई नै मुख्य हतियार बनाएर मन्त्री लामिछाने प्रहरीको नेतृत्व परिवर्तनमा लागिपरेका छन् ।

प्रहरी प्रमुख कुँवरको कार्यकाल अझै बाँकी नै छ । कार्यकाल नै नसकिइ लामिछानेको जोड बलले मात्र उनलाई हटाउन सक्ने अवस्था छैन । तालुकदार मन्त्री भएका हैसियतमा गृहमन्त्रीको निर्देशन पालना गर्नु प्रहरी प्रमुखको जिम्मेवारी हो । तर, मन्त्रीले कुनै स्वार्थका लागि भने प्रहरी प्रमुख फेर्न खोजेका हुन् भने त्यसलाई स्वाभाविक मान्न सकिँदैन । तथापि इतिहास हेर्ने हो भने राजनीतिक स्वार्थकै लागि वरियता मिचेर नेतृत्वमा पु¥याउनेदेखि अनेकन् चलखेल भएका उदाहरण छन् ।