images

असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला-२०८१ हुँदै

काठमाडौं–राष्ट्रिय सहकारी महासङ्घले असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ ।

बुधवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासङ्घले ललितपुरको पुलचोकमा असार ७,८ र ९ गते प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो । महासङ्घले मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने मूल नाराका साथ पहिलो पटक रोजगार मेला आयोजना गर्न लागेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले केही सहकारीको कारण सहकारी भनेको सडकमा जानुपर्ने भन्ने भ्रम सिर्जना भएको बताए । उनले दिनप्रतिदिन युवाहरू विदेश जानुपर्ने परिस्थितिलाई मुलुकभित्रै युवाहरूलाई सहकारीको माध्यमबाट राख्ने उद्देश्यले रोजगार मेला गर्न लागेको बताए ।

अध्यक्ष मल्लले मेलाले सहकारीमा मर्यादित रोजगारीका अवसरहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण कोशे ढुङ्गा साबित हुने बताए । उनले अहिले ३१ हजार सहकारीमा १ लाख बढीले प्रत्यक्ष रोजगारी दिएको सहकारी क्षेत्रले भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले योगदान गर्ने विश्वास लिएको बताए । उनले मेला विदेश पलायन युवा रोक्न,स्वदेशमै रोजगारी सिर्जना गरी प्रोत्साहन गर्ने वातावरण बनाउनको लागि मेला आयोजना गरिएको बताए । उनले उत्पादन तथा सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्ने सहजता प्रदान गर्ने बताए ।

मेलामा स्टार्टअप र साना व्यवसाय मार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको कार्य समेत हुने बताए । महासङ्घले सहकारी रोजगार मेलाले समयमा नै रोजगारी सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत वितरण अनलाइनमार्फत रोजगारीको लाभ लिन युवाको थप आकर्षण हुने अपेक्षा गरेको छ ।