images

राजनीतिक परिवर्तनमा महिलाहरूको ठुलो योगदान छः सभापति देउवा

काठमाडौं–नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरूको ठुलो योगदान रहेको बताएका छन् । ।

बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला सङ्घको भावी कार्य योजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ् नसक्ने बताए ।

उनले महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रूपमा महिलाहरूलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरूको भूमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गरे । उनले नेपाली काँग्रेस भित्र महिलाहरूमा अन्तरघातको रोग रहेको जिकिर गर्दै पार्टीमा अन्तरघातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरूलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गरे । उनले अहिले संसारभर नै महिलाहरूको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेको उल्लेख गर्दै उहाँ जस्तै योग्य बन्न आग्रह गरे । उनले निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्न आफूसँग कुरा गरेको उल्लेख गर्दै नेपाली काँग्रेसले उठाएका उम्मेदवारहरू चुनावमा पराजय हुने भएकाले पराजय हुने कुरालाई कसरी जित दिलाउने भन्नेतर्फ सोच्न आग्रह गरे ।

उनले भने, ‘महिलाहरूको धेरै ठुलो योगदान रहेको छ, नेपाली राजनीतिक परिवर्तनमा । भोलिको दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रूपमा महिलाहरूलाई ठाउँ दिइएको छ । त्यसले गर्दा महिलाहरूको भूमिका अझ बढी र प्रभावकारी, सशक्त हुने कुरामा मलाई विश्वास छ । महिलाहरूलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ । यसबाट मुक्त गराउन सके महिलाहरूलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु । अहिले संसारभर नै महिलाहरूको अधिकारका लागि महिलाहरूको समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै एउटा आवाज उठेको छ । त्यही हिसाबमा नेपालमा पनि महिला राष्ट्रपति समेत नेपालमा हुनुभएको छ । विद्या भण्डारीजी दुई पटक हुनुभएको छ । भोलिका दिनमा पनि यस्तै ठाउँहरू महिलाहरूले पाउनु हुनेछ । महिलाहरूले त्यस किसिमको योग्य र सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ । महिलाहरूको कुरा उठेको छ । केही महिलाहरूलाई सिटको व्यवस्था गर्नुपर्छ, चुनावमा नत्र समस्या पर्छ भन्ने कुरा छ । त्यो गरेर जान सकिने कुरा हो तर हाम्रो त महिला हारिहाल्छ समस्या पर्छ के । अरू पार्टीका महिला जित्ने हाम्रोका हार्ने । त्यो कसरी हार्न नदिने र पार्टीलाई महिला कसरी जिताउने भन्ने किसिमको तयारी गर्नुपर्छ । महिला सशक्तीकरणको अभियान तपाईँहरू अघि बढाउनुस् ।’

सभापति देउवाले महिला सशक्तीकरणको अभियानलाई अघि बढाउन आग्रह गरे ।