images

जीबी राई मलेसियामा छन् भन्ने पत्ता लागिसक्योः गृहमन्त्री लामिछाने

काठमाडौं–गृहमन्त्री रवि लामिछानेले दर्जनौँ सहकारी ठगीको आरोप लागेका जीवी राई मलेसियामा भएको पत्ता लागेको दाबी गरेका छन् ।

बिहीबार श्री एयरलाइन्सको परीक्षण उडानका लागि चितवनको भरतपुर आएका गृहमन्त्री लामिछानेले राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताएका हुन् । पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरेका हुन् ।

गृहमन्त्री लामिछानेले भने ‘ उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ ।’

पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएलगत्तैदेखि जीबी राई फरार छन् । फरार राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन् ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा राईसहित १९ जनाविरुद्ध २०८० असोज १८ मा दायर सहकारी ठगीसम्बन्धी मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाका प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परी हाल पुर्पक्षका लागि कारागारमा छन् । राईसहित १४ जना अझै फरार छन् ।

गृहमन्त्री लामिछाने र जीबी राई गोरखा मिडिया नेटवर्कमा सहकार्यमा रहँदा राईसँगै लामिछानेलाई पनि ठगीको आरोप लाग्दै आएको छ । साथै गृहमन्त्री लामिछाने सङ्लन रहेको सहकारीसहितको छानबिनका लागि संसदीय छानबिन समिति लगायतले काम गरिरहेको छ ।