images

सात वर्षमा ३५ प्रहरी कर्मचारीले गरे देह त्याग, मानसिक समस्या प्रमुख कारण

काठमाडौं– मुलुकको सुरक्षामा प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण रहेको छ । तर, प्रहरी जवानदेखि अधिकृतसम्मका व्यक्तिहरू पेसागत तथा घरायसी समस्याले ग्रसित रहेको तथ्य सार्वजनिक हुँदै आएको छ । जसका कारणले उनीहरू आत्महत्याको बाटो रोज्न समेत विवश बन्दै गएका छन् ।

पछिल्लो समय प्रहरी जवानमा पारिश्रमिक कम र १४ घण्टाभन्दा बढी ड्युटी सेड्युलका कारण पेसाप्रति वितृष्णा पैदा हुँदै गएको छ । मुलुकको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न प्रहरी जवानको निराश मानसिकता किन विकसित हुँदै गयो भन्ने गम्भीर प्रश्न उब्जाएको छ । बुधवार काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका एक प्रहरी जवानले आफ्नै टाउकोमा गोली हानी हत्या गरेपछि यो विषय फेरि एक पटक चर्चामा आएको छ । यद्यपि उनले प्रेमिकासँगको आर्थिक लेनदेनका कारण आत्महत्या गरेको खुलेको छ ।

यसअघि पनि मुलुकका विभिन्न ठाउँमा प्रहरीले आत्महत्या गरेका घटना सार्वजनिक हुँदै आएका थिए । प्रहरी प्रधान कार्यालयको आँकडा अनुसार पछिल्लो ७ वर्षमा ३५ भन्दा बढी प्रहरी कर्मचारीले आत्महत्या गरेका छन् । आत्महत्याको दर बढ्दै जाँदा प्रहरी जवान आफ्नै पेसाप्रति किन विरत्त भए भन्ने प्रश्न यति बेला खडा भएको छ । पछिल्लो पाँच वर्षमा मात्रै ४ हजार ८ सय ६२ प्रहरी जवानले पदबाट राजीनामा दिएको तथ्याङ्क प्रहरीको छ । पूर्व प्रहरी अधिकृतका अनुसार प्रहरी जवानले आत्महत्याको बाटो रोज्नुका व्यस्त दैनिक, बोझिलो काम । पारिवारिक बोझका कारण रहेका छन् । ठाकुर ज्ञवाली प्रहरीको आइजिपी हुँदा जुनियर अफिसरहरूको बारेमा अध्ययन गरिएको थियो । अध्ययन अनुसार ६० प्रतिशत प्रहरी जवानहरू ऋणमा छन् । यस्तै जुन उद्देश्यले प्रहरीको जागिरमा प्रवेश गरेका थिए उक्त लक्ष्य पनि हासिल नभएको अध्ययनले देखाएको छ ।

पूर्व डिआइजी हेमन्त मल्लका अनुसार घरायसी कारणका साथै ड्युटीको दबाब पनि प्रहरी जवान आत्महत्याको प्रमुख कारण हो । करिब ४० प्रतिशत प्रहरीले औसत एक दिन करिब १४ घण्टा ड्युटी गर्नुपर्ने अवस्था छ । “ड्युटीको व्यस्त सेड्युलका कारण पनि प्रहरीको मनस्थितिमा प्रभाव पर्दै आएको छ।” मल्लले भने । आत्महत्या गर्ने अवस्थामा मानिस पुग्नुको पछाडिको प्रमुख कारण मनस्थिति नै हो । अर्थात् मानसिक स्वास्थ्य समस्याका कारण नै व्यक्तिलाई आत्महत्याको बाटो रोज्न विवश हुन्छ । मोनोविद् गोपाल ढकालका अनुसार आत्महत्याका हुनुका पछाडि ९० प्रतिशत कारण मासिक समस्या हो । “मानसिक समस्यामा पनि ७० प्रतिशत आत्महत्या डिप्रेसनको कारणले हुन्छ” ढकालले भने । केही आत्महत्या क्षणिक आवेगका कारण हुन्छ भने बालबालिकाले देखासिकीका कारणले पनि आत्महत्या गर्ने गरेका छन् । समग्र रूपमा आत्महत्यालाई मानसिक रोगको दुःखद परिणामको रूपमा बुझ्न सकिन्छ ।

प्रहरीको तथ्याङ्क अनुसार गत वर्ष ६ हजार मानिसले आत्महत्याका कारण ज्यान गुमाएका छन् । यस्तै आत्महत्याकै कारण प्रत्येक दिन २० जनाको मृत्यु हुने गरेको तथ्याङ्क पनि प्रहरीले सार्वजनिक गरेको छ । मनोविद्का अनुसार आत्महत्याको दर बढ्दै जाँदा पनि नीति निर्माण तहमा पुगेका व्यक्तिले मानसिक स्वास्थ्यको पक्षलाई बेवास्ता गर्दै आएका छन् । सरकारले ल्याएको आर्थिक वर्ष २०८१÷८२ को बजेटमा पनि मानसिक सचेतना फैसलाले कुनै कार्यक्रम समावेश नहुनु दुखद पक्ष हो ।

जनताको सुरक्षामा खटिएको प्रहरी जवानले अनाहक किन आत्महत्याबाट आफ्ना ज्यान गुमाउँछन् रु राज्यले तत्काल यसको सोधी खोजी गरी समस्या समाधान गर्नु जरुरी छ ।