images

जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो: प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्ने गरी काम गरिरहेको जिकिर गरे । उनले जीवनको उत्तरार्द्धतिर पनि आफू जनयुद्धकलाको भन्दा बढी खटेर काम गरिरहेको बताए । उनले अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताए ।
उनले भने, ‘तपाईँ हामी कता कता पहिलाको जस्तो सक्रियता जीवन देख्ने पार्टी, आन्दोलन देख्ने लोकतन्त्रमा त्यसमा कमी आएकै छ । त्यो हामीले आत्म समीक्षा गर्नुपर्छ । निराश हुनु हुँदैन । कयौँ साथीहरूलाई लाग्छ, पार्टी नेतृत्वको हैसियतले नेतृत्वले के गरिरहेको छ ? पहिलाको जस्तै छ की अर्कै छ की ? बिग्रियो की, साँच्चै हो की होइन भन्ने खालले विभिन्न रूपमा तपाईँहरूको मनमा पनि मुख्य नेतृत्वप्रति पनि प्रश्न उठ्छन् होला । बेस्सरी आलोचना हुँदा नमिठो लाग्छ होला । जीवनको उत्तरार्द्धतिर त लागिएकै छ । किनभने ७० तिरबाट अघि बढ्नु उत्तरार्ध नै हो । तर म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु । बरु जनयुद्धमा मेरो जीवन सरल थियो । अहिले अझ बढी खट्नुपर्ने । विभिन्न राजनीतिक दलहरू कहिले यता, कहिले उता पनि भन्छन् । तर मैले पार्टी आन्दोलन देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरू, बाहिर र सदन भित्र भएकाहरूलाई पनि संयोजन गर्ने कुरा गरिरहेको छु । कहिले कहीँ त मलाई यस्तो लाग्छ, मैले नेपाली काँग्रेस, नेकपा एमालेलाई पनि अरू पार्टीलाई पनि संयोजन गर्ने, उहाँहरू भित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपर्ने जस्तो गरी मैले काम गर्नु परिरहेको छ । मैले गरिरहेको पनि छु ।’
उनले बृहत्तर एकतातिर पनि आफू अघि बढिरहेको बताए ।