images

कांग्रेस–एमालेको निर्देशनमा चल्ने रास्वपा कसरी फरक ? सत्ताको भोकले रन्थनिँदै

काठमाडाैं– स्थापनाकालको छोटो समयमै अपत्यारिलो जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग जनताका थुप्रै आशा, अपेक्षाहरू थिए । पुराना दलहरूले दिने झुटा आश्वासन र व्यवहारले वाक्क दिक्क भएका जनता विकल्प खोजिरहेका थिए । सोही विकल्पका रूपमा रास्वपाको उदय भएको थियो । छोटो अवधिमै उल्लेख्य जनमत बटुलेको रास्वपाले मतदातामा उत्साह पनि थपेको थियो । पार्टीले यो मत सङ्गठन र कार्यकर्ताको हिसाबले पक्कै पाएको होइन । पुराना दलहरूका कार्यशैलीबाट आजित भएका जनताले विकल्पका रूपमा रास्वपा रोजेका थिए । तर, जनमतअनुसार पार्टीका गतिविधि अघि नबढ्दा भविष्य के हुने भन्नेमा अन्यौलता सिर्जना भएको छ ।

राजनीतिक विश्लेषक प्रा।डा। प्रेम शर्माले भने रास्वपा एजेन्डा र दर्शनविहीन पार्टी भएको टिप्पणी गर्छन् । उनले जनताले रास्वपालाई विगतका दलहरूले ल्याएका एजेन्डा र गरेको कार्य प्रति असन्तुष्ट भएकाकै कारण आफ्नो मत दिएको बताए । नवोदित वैकल्पिक पार्टीका रूपमा उदाएको रास्वपाले परीक्षणको रूपमा मत दिएको बताउँदै रास्वपा जलाधार नभएको, कुनै नीति नियम र दर्शन नभएको बताए ।

विश्लेषक शर्माले प्रतिपक्षीमा जनताले अघि सारेको भए पनि सत्ता लिप्सामा टाँसिएको आरोप लगाए । उनले उपप्रधान एवम् गृहमन्त्रीको पद बार्गेनिङ लिएर जान नहुने मत राखे । उनले रास्वपाले आफूमा लागेको रूपमा सफाइ दिन नसकेको, सहकारी बचतको रकम अपचलनका विषयमा सफाइ दिन नसकेको बताए । उनले इलाम २ को उपनिर्वाचनबाट नै रास्वपा प्रति जनताहरू प्रस्ट भइसकेको समेत बताए ।

आम निर्वाचन सम्पन्न भइसकेपछि निर्णायक शक्तिका रूपमा उदाएको रास्वपा सत्ताको भुमरीमा परेको छ । पुराना दलहरूको दबदबा रहेको सत्ता समीकरणमा समावेश रास्वपाको सत्ता यात्रा सोचेअनुरूप अघि बढ्न सकिरहेको छैन । तर सांसद डा अमरेश कुमार सिंह भने रास्वपाको सांसदहरू हक्की रूपमा सदनमा प्रश्न गर्ने क्षमतावान् भएको भन्दै प्रशंसा गरे ।

पार्टीबाट विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेका नेताहरूले सोचेअनुरूप काम गर्न सकिरहेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीको इच्छा विपरीत काम गर्ने कुरै भएन । रास्वपा कतै न कतै यिनै नेताहरूको परिबन्धमा परेको छ । त्यसमा पनि पार्टी सभापति रवि लामिछानेका एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले समेत पार्टीको भविष्यमा प्रश्न खडा गरिदिएको छ । काम गर्नका लागि सत्तामै बहाल हुनुपर्ने रास्वपाको तर्कसँग आम मत बाझिन थालेको छ । सरकारमा सहभागी नभएर सशक्त प्रतिपक्षको भूमिकामा बसेको भए पनि हुन्थ्यो भन्नेहरू पनि छन् । जसको विरोध गरेर राजनीति सुरु गरे तिनकै पछि लागेर उस्तै कार्यशैली देखाउन थालेको भन्दै केही असन्तुष्टिहरू व्यक्त भइरहेका छन् । रास्वपाका नेताहरूले यसलाई स्वीकार गरिरहेको देखिन्छ ।