images

सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार

काठमाडौं– दक्षिण कोरियाका लागि राजदूतका रूपमा सिफारिस गरिएका सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् ।
आइतबार एक विज्ञप्ति निकाल्दै उनले गत शुक्रवार मन्त्रिपरिषद् बैठकबाट आफूलाई राजदूतका रूपमा पठाउने निर्णयको सम्मान गर्ने तर उक्त जिम्मेवारी सम्हाल्न नसक्ने जनाएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारको यो निर्णय मैले गैर सरकारी संस्थाहरूको अभियान, यस अघिका सरकारद्वारा विश्वासका साथ सुम्पिएको जिम्मेवारीहरू निर्वाह गरेको परिणामका रूपमा ग्रहण गरेको छु’, उनले भनेका छन्, ‘तर यसका साथै यो विषयमा मेरो धारणा सार्वजनिक गर्ने पर्ने आवश्यकता देखेकोले यो प्रेस विज्ञप्ति जारी गर्दै छु ।’

उनले थप्दै लेखेका छन् ‘आजै प्रधानमन्त्रीज्यूलाई सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा दर्ता गराइसकेको छु’, उनले भनेका छन्, ‘यसबीचमा मलाई बधाई, शुभकामना दिँदै मप्रति सद्भाव प्रकट गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’

प्याकुरेलले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देखेको बताएका छन् । सरकार फेरिए लगत्तै राजदूत फर्काउने निर्णयमा पनि उनले प्रश्न उठाएका छन् ।

हेर्नुहोस् यस्तो छ विज्ञप्ति