images

बेलग्रेडमा अलपत्र युवालाई स्वदेश फर्काइयोस्, म्यानपावरलाई कारबाही होस्: उपसभापति गुरुङ

काठमाडौंं–नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमिकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरूलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले कुवेतको नेपाली जन सम्पर्क समिति कार्यक्रममा सहभागी भई आफू स्वदेश फर्किने क्रममा ५ जना नेपाली बेलग्रेडबाट फर्काइएको अवस्थामा पाएको उल्लेख गरे । उनले झापाको खगोल म्यानपावर र काठमाडौँको डायनामिक मुख्य म्यानपावरबाट प्रतिव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेल ग्रेड पु¥याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको एवं १० जना नेपाली अझै अलपत्र रहेको बताए। उनले १५ जना मध्ये १४ जना झापा जिल्लाको र एक जना बर्दिया जिल्लाको रहेको जानकारी आफूले पाएको बताए । ठगिएका युवाहरूलाई क्षतिपूर्ति दिन र म्यानपावर कम्पनीलाई कारबाही गर्न आग्रह गरे । अलपत्र युवाहरूलाई सरकारले विशेष पहल गरी स्वदेश फर्काउन पनि आग्रह गरे ।

उनले भने, ‘कुवेतको नेपाली जन सम्पर्क समिति कार्यक्रममा सहभागी भए हिजो मात्रै म फर्किने क्रममा दोहा ट्रान्जिट भएर आउँदै गर्दा दोहाबाट कतार एयरवेजको जहाज चढ्दै गर्दा त्यहाँ ५ जना नेपाली युवाहरू बेलग्रेडबाट फर्काइएको जहाजहरू त्यसमा लिएर आएको सन्दर्भमा खबर मैले त्यहाँ सूचना पाएँ । ती युवाहरूलाई मैले त्यही जहाजमा भेटेँ । भेटेर के कारण यस्तो भयो भनेर सोध्दा उहाँहरूलाई झापाको खगोल भन्ने म्यानपावरमार्फत काठमाडौँको डायनामिक भन्ने मुख्य म्यानपावरबाट प्रतिव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेल ग्रेड पु¥याइएको रहेछ । त्यहाँ रिसिभ नभएपछि विमानस्थलबाटै पाँच जनालाई फकाइसकिएको अवस्था छ । बाँकी १० जना बेल ग्रेट एयरपोर्टमा बिचल्ली भएको अवस्था रहेछ । १५ जना मध्ये १४ जना झापा जिल्लाको मात्रै र एक जना बर्दिया जिल्लाको रहेछ । यसरी म्यानपावरले जथाभाबी रूपमा कन्फर्म नभईकन युवालाई साढे ६ लाख रुपैयाँसम्म लिएर यसरी विदेश पठाउने र फर्काउने यसले मुलुकको शिर झुकाउने काम गरेको छ । युवाहरू ठगिने काम भएको छ । ठुलो रहर बोकेर गएकाहरूलाई फर्काइएको छ । उनीहरूलाई क्षतिपूर्ति दिनुपर्छ । युवाहरूलाई अनियमित ढङ्गबाट र उनीहरूलाई त्यहाँ सरोकारवालासँग कुरा नभईकन विदेशको लोभ देखाएर पठाइ युवाहरू ठग्ने काम क्षम्य छैन । सरकारको ध्यानाकर्षण गराउँछु । कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला दिदिबहिनीहरु त्यहाँ हुनुहुन्छ । त्यसमध्ये २७ हजार महिलाहरू गैर कानुनी रूपमा रहेको सूचना पाएको छु । गत ६ महिना भित्र १० हजार नेपाली महिलाहरू गैर कानुनी बाटोबाट त्यहाँ गएका छन् । यो दुःखलाग्दो कुरा हो । सरकारले ढोका बन्द गरेर झ्याल खुला गर्दा यो समस्या आएको हो ।’

उनले कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला कामदार रहेको र त्यसमध्ये २७ हजार गैर कानुनी बाटो भई गएको भन्दै यसबारेमा पनि सरकार गम्भीर बन्नुपर्ने बताए ।