images

२०१५ सालदेखिका संसदीय गतिविधिलाई वेबसाइटमा राखौँः एमाले प्रमुख सचेतक बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो माग गरेका हुन् । उनले नेपालको संसदीय अभ्यास २०१५ बाट सुरु भए पनि त्यो बेलादेखिका संसदीय गतिविधि अभिलेख आन्तरिक रूपमा भए पनि सर्वसाधारणको पहुँचमा नआएको बताए । उनले अहिलेसम्म हेर्दा विभिन्न खालका संसद्का अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पाउन नसकेको बताए ।

उनले संसद्का समग्र गतिविधिहरूलाई वेबसाइटमार्फत सजिलै हेर्न सक्ने गरी वेबसाइटमा ल्याउन माग गर्नुभयो । उहाँले २००८ देखिका राजपत्र, २०१३ सालदेखि पत्रिका र देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा भेट्न सकिने तर संसद्को समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको नभेटिने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

उनले भने,‘नेपालको संसदीय अभ्यास २०१५बाट सुरु भयो । २०१५ सालदेखिका अभिलेख आन्तरिक रूपमा होला तर पब्लिक डोमेनमा आएन । अहिलेसम्म हेर्दा विभिन्न खालका संसद्का अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पु¥याउन सकेका छैनौँ । आज सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । संसद्का समग्र गतिविधिहरूलाई वेबसाइटमार्फत सजिलै हेर्न सकिने गरी पब्लिक डोमेन्टमा ल्याउन माग गर्न चाहन्छु । २००८ देखिका राजपत्र खोज्दा भेट्नसक्छौं । २०१३ साल देखि पत्रिका भेट्नसक्छौं । देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा हेर्ने हो भने भेट्न सकिन्छ । मन्त्रीपरिषद्का निर्णयहरू पनि समरीका रूपमा भेट्नसक्छौं तर संसद्को समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको अवस्था छैन । व्यवस्थित गर्न माग गर्दछु ।’

उनले संसदीय गतिविधिलाई ऐतिहासिक सम्पत्तिको रूपमा सर्वसाधारणले सजिलै पाउने गरी व्यवस्थित गर्न आवश्यक रहेको बताए ।