images

सबै मिलेर अघि बढे मात्रै देश समृद्ध बन्छः देउवा

काठमाडौं–नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढे मात्रै देश समृद्ध बन्ने बताएका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताए । उनले सबै आपसमा एक भएर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताए । उनले आदिवासी जनजातिहरू एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरू पनि संरक्षण गर्न सकिने बताए ।

उनले भने, ‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ । दाजुभाइहरू हुनुहुन्छ । अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ । त्यस कारण तपाईँहरू सबै आपसमा एक भएर यो राष्ट्रलाई ठुलो योगदान दिन सक्नुहुन्छ । भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् । साथसाथै काँग्रेस पार्टीलाई पनि मजबुत पार्नुस् । यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस् । त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ । तपाईँहरू आदिवासी, जनजाति दिदिबहिनीहरुको अधिकार पनि संरक्षण हुन्छ । आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन । छलफल गरेर उहाँहरूका मागहरू पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’

सभापति देउवाले आदिवासी, जनजातिका मागहरू सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिबद्धता जनाए ।