images

मेयरका आफन्त ओसार्न सरकारी सवारीको दुरुपयोग, स्थानीयले लिए नियन्त्रणमा

अछाम– अछामको विनायक पञ्चदेवल नगरपालिकाकी मेयर अम्बिका चलाउनेले आफन्तलाई ओसार्न सरकारी सवारी साधनको प्रयोग गर्ने गरेको पाइएको छ । सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै स्थानीयले त्यसको विरोध जनाएका छन् ।

मेयर चलाउनेकी आफन्त एवं स्थानीय सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका निर्मला रावल धामीको आवतजावतका लागि दैनिक रूपमा सरकारी मोटरसाइकलको दुरुपयोग भइरहेको भन्दै नेपाली कांग्रेसकै कार्यकर्ताले उक्त सवारी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

शिक्षिका धामी नगरपालिकाकी मेयर अम्बिका चलाउनेकी बुहारी हुन् । सोमबार भे १ ब १८१२ नम्बरको मोटरसाइकलको चाबी खोसेर स्थानीय राज देवकोटा लगायतको समूहले इलाका प्रहरी कार्यालय विनायकमा बुझाएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाको मोटरसाइकल नगरपालिकाका कार्यालय सहयोगी पारस केसी र जिम्मेवारी नखुलेका दीपेन्द्र धामीले सरकारी मोटरसाइकल दुरुपयोग गरिहरेको भन्दै उनीहरुले मोटरसाइलको चाबी थुतेर प्रहरीलाई बुझाएका हुन् ।

नगरपालिकाका ९ वटा वडाका सुत्केरी, गर्भवती तथा अन्य गम्भीर बिरामीहरू सहज यातायात सुविधा नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहँदा सरकारी सवारी दुरुपयोग गरी मेयरका आफन्त ओसार्ने कार्य भइरहेको भन्दै स्थानीयले सवारी साधनलाई नियन्त्रणमा लिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यातायात सुविधाको अभावमा उक्त स्थानीय तहका कयौँ गर्भवतीले हिँडेर स्वास्थ्य चौकी जाँदा बाटोमै बच्चा जन्माउने गरेका समेत स्थानीयको भनाइ छ । तर नगरपालिकाले स्थानीयको पीर मर्कामा सवारी साधन उपलब्ध नगराउने र आफन्तहरुलाई ओसार्न प्रयोग गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।