images

किराना पसलमा लागू औषध बिक्री गर्ने एक महिला पक्राउ

सिरहा– सिराहाको धनगढीमाई नगरपालिका– १ बाखर गाउँबाट एक महिलालाई लागू औषध विक्री वितरण गरेको आरोपमा पक्राउ परेकी छिन् । आफ्नै घरमा सञ्चालन गरेको किराना पसलमा लागु औषध बिक्री–वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अन्दाजी ३५ वर्षीया विनादेवी यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी यादवको किराना पसल र घरको खानतलासीको क्रममा १०/१० थान प्रोमोथोजिन हाइड्रोक्लोराइड, डाइजिपाम र इप्पल इन्जेक्सन बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार पसलबाट नाइट्राभेट १० लेखिएको तीन सय २५ थान ट्याब्लेट, ३० थान सुई, ६ थान मोबाइल र नेपाली र भारतीय मुद्रा गरी सात हजार ९० रुपैयाँ बरामद भएको छ । पक्राउ परेकी यादवलाई धनगढी प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।