images

९ वटा सहकारीको कागजात माग गर्ने संसदीय छानबिन समितिको निर्णय

काठमाडौं–सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाका कागजात माग गर्ने निर्णय गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिका सभापति सूर्यबहादुर थापाले अनुसूची २ म रहेका आईडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था लि. सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्य दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरूको कागजात माग गरिएको बताए ।

उनले समितिले ती सहकारीहरूको पछिल्लो साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण समिति र त्यसको प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरू माग गरेको बताए । त्यस्तै समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति समेत ६ वटा बुँदासहित ९ वटा सहकारीहरूको कागजात माग गर्ने निर्णय गरेको बताए । गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा समितिको चासो केन्द्रित भएको बताए । उनले कार्यादेशमा उल्लेख भएअनुसार समितिले काम अघि बढाइरहेको बताए ।

उनले भने, ‘बैठकमा सहकारी क्षेत्रका दुई जना विख्यात व्यक्तित्वहरू जसले २०४६ सालपछि सहकारीको विकास, कानुनी प्रबन्ध, संरचनागत प्रबन्ध र समग्र विकासमा योगदान गर्नुभएको छ । पूर्व मन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र पूर्व मन्त्री सहकारी महासङ्घका पूर्व अध्यक्ष केशवप्रसाद बडालज्यूलाई हामीले आमन्त्रित गरेका थियौँ । उहाँहरूले अन्तर्राष्ट्रिय रूपमा र समग्रतामा यसमा सहकारीको उद्भव, विकास र समग्र स्थितिको परिचर्चा गर्दै सहकारीमा देखा परेका समस्याको समाधानका बारेमा गहन छलफल भयो । उहाँहरूले सल्लाह, सुझाव दिनुभयो । उहाँहरूले सहकारी भित्र आज देखा परेको समस्या ३० हजार हाराहारी सहकारीहरूमध्ये करिब ५ सय सहकारीको समस्या हो । यो जम्माजम्मी एक प्रतिशत भन्दा कमको समस्या हो भन्ने कुरामा आफ्ना धारणा राख्नुभयो । सहकारी क्षेत्रमा सहकारीको सिद्धान्त, मूल्य मान्यता र पद्धतिअनुसार सञ्चालन भएका सहकारीहरूमा समस्या छैन । सहकारीको ब्यानरमा, सहकारीको नाममा, सहकारीको कानुनबाट बचत र ऋण सहकारीको जुन सञ्चालन गर्ने गरी आउनु भयो । कानुनको कतिपय सन्दर्भमा उल्लङ्घन गरेर अनुगमन, नियमन नहुँदा त्यसको फाइदा उठाएर जे जसरी काम भएका छन्, त्यस सन्दर्भमा महत्त्वपूर्ण स्थिति अवगत गराउनु भयो । ओरियन्टल सहकारीदेखि पछि देखा परेका तमाम समस्याका सन्दर्भमा र अहिले हामीले छानबिन गरेका अनुसूची १ र २ का जम्मा २९ सहकारी लगायतका बारेमा पनि उहाँहरूले चर्चा गर्नुभयो । उहाँहरूका सुझाव महत्त्वपूर्ण र फलदायी भएका छन् । बैठकबाट हामीले अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूका सन्दर्भमा हामीले सम्बन्धित निकायहरूबाट कागजात माग गर्ने निर्णय गरेका छौं । ती सहकारीहरूको पछिल्लो साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण समिति र त्यसको प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरू र विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति समेत हामीले ६ वटा बुँदासहित ९ वटा सहकारीहरूको कागजात माग गर्ने निर्णय गरेका छौँ । गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा हाम्रो चासो केन्द्रित भएको छ । हामीलाई टिओआरमा कार्यादेशमा पनि त्यही कुरा उल्लेख छ । हामी त्यसमा अगाडि बढेका छौँ । यसअघिका छानबिन समिति, आयोगहरूका प्रतिवेदनहरू प्राप्त भएका छन् ।’

उनले समितिले राजहाँसको भूमिका निर्वाह गर्ने गरी सहकारी ठगी प्रकरणमा तथ्य प्रमाण सङ्कलन गर्ने बताए । समिति कसैलाई ढाकछोप गर्न र नियतवश फसाउन बनेको समिति नभएको बताए । समितिले सहकारी क्षेत्रका ज्ञाता पूर्व मन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र पूर्व मन्त्री सहकारी महासङ्घका पूर्व अध्यक्ष केशवप्रसाद बडालसँग पनि छलफल गरेको छ ।