images

सर्लाहीमा अवैध रूपमा सञ्चालित १३ वटा क्लिनिक तथा औषधी पसलहरूमाथि कारबाही

सर्लाही–सर्लाहीमा अधिकांश क्लिनिक तथा औषधि पसलहरू अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ। पछिल्लो समय अनुमति नै नलिई क्लिनिक तथा औषधि पसलहरू खोल्ने क्रम बढेसँगै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमनमा तीव्रता दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको नेतृत्वमा सम्बन्धित पालिकासहित स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उद्योग वाणिज्य सङ्घलगायतका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र पत्रकारसहितको टोलीले अनुगमन गरेको छ ।

अनुगमनको क्रममा अनुमति नै नलिई सञ्चालनमा रहेका सदरमुकाम मलंगवामा ७ वटा र लालबन्दी नगरपालिका वडा न.१, नवलपुर बजारमा रहेका ६ वटा स्वास्थ्य संस्थाहरूलाई दण्ड जरिवाना गराई तुरुन्त सुधार गर्नको लागि चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

अनुगमनका क्रममा सदरमुकाम मलंगवासहित नवलपुर,लालबन्दी ,हरिवन,बरहथवा, गोडैता, ईश्वरपुर लगायतका ठाउँमा दर्जनौँको सङ्ख्यामा अनुमति नै नलिई गैर कानुनी तरिकाले क्लिनिक तथा औषधि पसलहरू सञ्चालन भइरहेको भेटिएका छन् ।

१५ बेड सम्मको अस्पताल तथा क्लिनिक सञ्चालन गर्न स्थानीय सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको भए पनि २५ बेड सम्मका अधिकांश अस्पताल तथा क्लिनिकहरू स्थानीय तहबाट अनुमति नै नलिई कानुन विपरीत सञ्चालनमा रहेको भेटिएका हुन् ।

त्यस्ता क्लिनिक तथा अस्पतालका सञ्चालकहरू दक्ष, योग्य तथा अनुभवी चिकित्सक समेत नराख्ने गरेको तथा अनुमानकै आधारमा जथाभाबी उपचार गर्ने गरेका कारण सर्वसाधारण नागरिकहरू अकालमै ज्यान गुमाउन बाध्य भएका छन्। भारतीय गाउँ तथा बजार यहाँबाट नजिकै पर्ने भएकोले कतिपय भारती नागरिकहरूले समेत मलंगवा लगायत अन्य ठाउँमा सम्बन्धित निकायसँग अनुमति नलिई क्लिनिकहरू सञ्चालन गरिरहेका छन् । त्यस्ता क्लिनिकहरू गर्भ परीक्षण गर्नकै लागि अल्ट्रासाउन्ड मेसिन राखेर अवैध धन्दा चलाइरहेको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताए ।

अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्थाहरूले विशेष गरी गर्भवती महिलाको जथाभाबी गर्भ परीक्षण गर्ने गरेको, कानुन विपरीत गर्भमा रहेको छोरा९छोरा छुट्टाइ दिने सम्मको काम गर्ने गरेको गुनासो आएपछि अनुगमन कार्यलाई तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले बताए ।